
कैलालीको गोदावरी नगरपालिका–१, बसन्तपुरमा आँगनमै शिशु जन्माएकी २४ वर्षीय चन्द्रा आचार्यका आफन्त १४ दिन बित्दासम्म पनि सम्पर्कमा आएका छैनन्।

सुर्खेतको गुर्भाकोट–८ मेलकुना माइती भएकी आचार्यले आफूले बझाङको थलारा गाउँपालिका–२ का डम्बर जोशीसँग विवाह गरेको बताएकी छन्। उनी गत जेठ ६ गते एक व्यक्तिको आँगनमा शिशु जन्माएको अवस्थामा फेला परेकी थिइन्।
स्थानीयले खबर गरेपछि प्रहरीले उद्धार गरी उनलाई पद्म अस्पताल पुर्याएको थियो। हाल उनी अत्तरियास्थित महिला तथा बालबालिका सेभ हाउसको संरक्षणमा छिन्।


सेभ हाउसकी अध्यक्ष जानकी मलासीका अनुसार आचार्यका श्रीमान्सहित कोही पनि आफन्त हालसम्म सम्पर्कमा आएका छैनन्। “हामीले हिन्दु परम्पराअनुसार नवजात शिशुको न्वारन पनि गरिसकेका छौँ,” अध्यक्ष मलासीले भनिन्, “तर आमाले आफन्तबारे धेरै कुरा खुलाउन चाहेकी छैनन्, जसले पहिचानमा समस्या भइरहेको छ।”
उनले गोदावरी क्षेत्रकै महादेव टोलमा कोठा लिएर बस्ने गरेको र विगतमा वनगाउँबाट किराना सामान ल्याई धनगढी र अत्तरियामा बिक्री गर्दै आएको प्रारम्भिक बुझाइ रहेको जानकारी दिइन्। आमा र शिशु दुबैको अवस्था हाल सामान्य रहेको सेभ हाउसले जनाएको छ।

















