
कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ की इन्दु राई १५ वर्षदेखि महाकाली नदीमा माछा मार्दै परिवार पाल्दै आएकी छन्। बिहानै माछा मार्न नदी जाने र खाना साथमा बोकेर दिनभरि काम गर्ने उनी दैनिक पाँचदेखि १० किलोसम्म माछा समात्छिन्।

साना माछा प्रतिकिलो २५० र ठूला ३०० रुपैयाँमा झलारी, महेन्द्रनगर र दैजी बजारमा बिक्री हुने गर्छ। जाल थाप्न कठिन हुने भएकाले राईले थालमा कपडा बेरेर पिठो प्रयोग गरी माछा समात्ने तरिका अपनाउँछिन्।

माछा बिक्रीबाट राईले महिनामा ३०–३५ हजार रुपैयाँसम्म कमाउँछिन्। खेतीयोग्य जमिन नभएकी उनी अन्न, लुगाफाटा, औषधि र छोराछोरीको पढाइ सबै यही आम्दानीले धान्छिन्।

उनकी सहकर्मी पार्वती चौधरी पनि यही पेशाबाट जीवनयापन गर्छिन्। तर, अब माछा कम भेटिन थालेको भन्दै दुबैले चिन्ता व्यक्त गरे। महाकालीमा महासिर, सिलर, रैना, मगरी लगायत माछा पाइन्छन्।





























