
लोपोन्मुख राउटे समुदायका बालबालिकालाई शैक्षिक प्रोत्साहन दिन झोला, विद्यालय पोशाक र शैक्षिक सामग्री वितरण गरिएको छ।

सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास मन्त्रालयमार्फत सामाजिक विकास कार्यालय डडेल्धुराले डडेल्धुराको परशुराम नगरपालिका–१२ स्थित बीपी प्राथमिक विद्यालयका ४५ र परशुराम–४, रज्यौडास्थित समैजी आधारभूत विद्यालयका ५३ जना गरी जम्मा ९८ जना राउटे विद्यार्थीलाई सामग्री हस्तान्तरण गरेको हो।
शुक्रबार विद्यालयमै आयोजित कार्यक्रममा मन्त्रालयकी राज्यमन्त्री सरस्वती खड्काले सामग्री हस्तान्तरण गर्दै सरकार ‘आवाजविहीन र विपन्न वर्गको अभिभावक’ भएको उल्लेख गरिन्। उनले राउटे समुदायको संरक्षण, सहयोग र हौसला अभिवृद्धिका लागि संघ, प्रदेश र स्थानीय तीनै तहको सरकारको सक्रिय भूमिका आवश्यक रहेको बताइन्।

“सरकारको कर्तव्य भनेकै गरिब, निमुखा र पछाडि परेका वर्गलाई अगाडि ल्याउनु हो,” राज्यमन्त्री खड्काले भनिन्।

कार्यक्रममा सामाजिक विकास कार्यालय डडेल्धुराका प्रमुख राधाकृष्ण जोशीले विशेष संरक्षणको खाँचो भएका राउटे बालबालिका आर्थिक अभावका कारण शिक्षाबाट टाढा भइरहेको बताए। शैक्षिक सामग्री सहयोगले उनीहरूलाई पढाइतर्फ प्रेरित गर्ने आशा उनले व्यक्त गरे।
परशुराम नगरपालिकाका नगरप्रमुख भरत बडायर जोशीले विद्यालयमै पुगेर सामग्री वितरण गरिएकोमा खुसी व्यक्त गर्दै मन्त्रालय र कार्यालयलाई धन्यवाद दिए।
उनले रज्यौडास्थित करिब ४५ घरधुरीमा राउटेहरूको स्थायी बसोबास रहेको जनाउँदै, “जंगलमा बस्दै आएका राउटेहरू अहिले कृषिमा समेत संलग्न हुन थालेका छन्,” भने।
नगरपालिकाले विपन्न, महिलावर्ग र राउटे बालबालिकाका लागि छात्रवृत्ति लगायतका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी पनि उनले दिए।




















