
काठमाडौं: गाजामा मानवीय सहायता वितरण भइरहेका बेला इजरायली सेनाले आक्रमण गर्दा कम्तीमा २४ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।

स्थानीय स्वास्थ्य अधिकारीहरूका अनुसार मंगलबार गाजाको राफाह क्षेत्रमा राहत वितरण भइरहेको बेला हिंसा र रक्तपातको अवस्था पुनः देखा परेको हो। समाचार संस्था रोयटर्सले जनाएअनुसार आक्रमणका बेला सहायता लिन जम्मा भएका सर्वसाधारणमाथि गोली चलाइएको थियो।
इजरायली सेनाले भने राहत वितरण स्थल नजिकै तोकिएको क्षेत्रमा नपुगी इजरायलको सीमातर्फ अघि बढ्नेहरूमाथि गोली चलाउनु परेको दाबी गरेको छ। उक्त घटनाको बचाउ गर्दै इजरायलले आफ्ना सुरक्षाकर्मीहरू आत्मरक्षाका लागि बाध्य भएको जनाएको छ।


यसअघि आइतबार मात्रै गाजामा भएका आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको प्यालेस्टिनी तथा अन्तर्राष्ट्रिय संस्थाका अधिकारीहरूले जानकारी दिएका थिए।
उत्तरी गाजामा विद्रोही समूह हमासविरुद्ध इजरायली सेनाले महिनौँदेखि आक्रमण जारी राख्दै आएको छ।

















