
अत्तरियाः गोदावरी नगरपालिका वडा नं. २ स्थित पी.एफ.ए. स्पोर्ट्स क्लबद्वारा आयोजित “पि.एफ.ए. भेट्रान्स कप क्रिकेट प्रतियोगिता” को छैटौँ संस्करण आगामी २०८२ साल जेठ २५ गतेदेखि असार ७ गतेसम्म सम्पन्न हुने भएको छ।


प्रतियोगिता टि-२० फर्म्याटमा टेनिस बल प्रयोग गरेर खेलाइनेछ। एलबीडब्लु बाहेकका सबै नियमहरू अन्तर्राष्ट्रिय क्रिकेट परिषद (ICC) का अनुरूप हुने जनाइएको छ। प्रतियोगिता लिग अफ र नकआउट चरणमा सञ्चालन हुने जानकारी महासचिव सिद्ध बोहोराले बताए ।

खेलाडी छनोटमा विशेष मापदण्ड
उमेरको दृष्टिकोणले प्रतियोगिता फरक खालको अनुशासनमा आधारित छ। प्रत्येक टिममा अधिकतम ४ जना खेलाडी ३२ वर्ष पूरा भएका, ७ जना खेलाडी ३५ वर्ष पूरा भएका र अनिवार्य रूपमा २ जना ४० वर्ष पार गरेका हुनुपर्नेछ। नेपाली नागरिकता वा राष्ट्रिय परिचयपत्रको आधारमा उमेर पुष्टि अनिवार्य गरिनेछ।
त्यस्तै, राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरको खेलमा सहभागी भएका कम्तीमा २ वर्ष पुराना खेलाडी मात्र समावेश गरिनेछ।

प्रथम पुरस्कार एक लाख रुपैयाँ
प्रतियोगितामा प्रथम हुने टिमलाई रु १,००,०००/- नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। द्वितीय टिमलाई रु ५०,०००/- दिइनेछ। उत्कृष्ट खेल प्रदर्शनको मूल्यांकनस्वरूप “म्यान अफ द सिरिज” रु १५,०००, “बेस्ट ब्याट्सम्यान” र “बेस्ट बलर” दुबैलाई रु १०,००० नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। प्रत्येक खेलमा म्यान अफ द म्याचलाई रु २,००० बराबरको गिफ्ट ह्याम्पर प्रदान गरिनेछ।

टिम दर्ता जेठ १९ देखि २२ सम्म
टिम दर्ता शुल्क रु १०,००० मात्र तोकिएको छ। टिममा १६ खेलाडी, १ व्यवस्थापक र १ प्रशिक्षक अनिवार्य रूपमा समावेश गरिनुपर्नेछ। टिम दर्ता गर्दा कप्तान, प्रशिक्षक र व्यवस्थापकको नाम उल्लेख गर्नुपर्नेछ।
यसअघि अक्सनमार्फत खेलाडीहरू खरिद गर्दै आयोजना गरिँदै आएको भेट्रान्स क्रिकेट प्रतियोगिता यस वर्ष भने फरक ढंगले सम्पन्न हुँदैछ। अक्सन प्रणालीबाट प्रतियोगिता र खेलाडीहरूलाई व्यावसायिक बनाउने प्रयास गरिए पनि, व्यवस्थापन पक्षमा देखिएको केही समस्या कारण यस वर्ष अक्सन प्रणालीलाई निरन्तरता दिन सकिएको छैन। क्लबका संस्थापक अध्यक्ष सन्तोष भट्टले जानकारी दिए।
उनका अनुसार अघिल्ला संस्करणहरूले अत्तरीयाको पहिचान बनाउन योगदान पुर्याएका थिए। अब भने अत्तरियामा रंगशाला निर्माणका लागि जनस्तरबाट दबाब सिर्जना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिनेछ। भट्टले प्रतियोगितालाई आर्थिक, सामाजिक र भौतिक रूपमा रंगशाला निर्माणप्रति प्रतिबद्धताको प्रतीकका रूपमा लिन सकिने बताए।
गोदावरी नगरको समर्थन
समारोहका प्रमुख अतिथि तथा गोदावरी नगरपालिकाका प्रवक्ता गोपालदत्त भट्टले पालिकाको ‘एक वडा, एक खेलमैदान’ नीतिअनुसार स्थानीय खेलकुद विकासका निम्ति क्लबहरूलाई एकीकृत गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमको सञ्चालन पीएफए स्पोर्ट्स क्लबका महासचिव सिद्ध बोहोराले गरेका थिए भने क्लब अध्यक्ष गणेश भण्डारीले सबैलाई प्रतियोगितामा सहभागी भई सफल बनाउन आग्रह गरे।
































