डोटीको शिखर नगरपालिका “पूर्ण खोप सुनिश्चितता पालिका” घोषणाः खोप अभियानमा ऐतिहासिक सफलता

Image
CP Hospital Dhangadhi

‘पूर्ण खोप, सुनिश्चित भविष्य’ भन्ने नारासहित डोटीको शिखर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ। यस अभियानमार्फत शिखर नगरपालिका डोटी जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चितता पालिका बन्न सफल भएको हो।

जिल्ला समन्वय समिति डोटीका प्रमुख एवं खोप समन्वय समितिका संयोजक लक्ष्मण बहादुर सिंहले औपचारिक रूपमा घोषणा गर्दै सम्पूर्ण सूचकहरू पूरा भएको जानकारी दिए। उनले नगरपालिका प्रमुख दीर्घ बहादुर बलायरलाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र हस्तान्तरण गरेका थिए।

nawajiwan

नगर प्रमुख बलायरले खोप अभियान सफल बनाउन योगदान दिने सम्पूर्ण स्वास्थ्यकर्मी र कर्मचारीलाई धन्यवाद दिंदै स्वास्थ्य क्षेत्रमा अझ व्यापक लगानी गरिने प्रतिवद्धता व्यक्त गरे।

बालबालिकाका लागि शतप्रतिशत खोप सुनिश्चित
नगर उपप्रमुख सुनिता रावल जोराका अनुसार, २०८१ सालको चैत मसान्तसम्म १६ देखि ५९ महिनासम्मका सबै बालबालिकालाई आवश्यक सम्पूर्ण खोप दिइसकेपछि यो घोषणा सम्भव भएको हो। उनले राज्यको खोप नीति अनुसार सबै सूचकहरू पूरा गरिएको जानकारी दिइन्।

Attariya Hospital

स्वास्थ्य शाखा प्रमुख हरिशचन्द्र शाहले नगरपालिकाका ११ वटै वडामा खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप पाएको पुष्टि गरे। यदि कुनै खोप छुटेका बालबालिका सम्पर्कमा ल्याइएमा एक हजार रुपैयाँ पुरस्कार समेत प्रदान गरिने व्यवस्था गरिएको उनले बताए।

दिगो प्रयास, नियमित सर्वेक्षण र जिम्मेवार सेवा वितरण
प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र कुमार श्रेष्ठले सेवा प्रवाह छरितो, सहज र प्रभावकारी बनाउन कर्मचारीको दायित्व रहेको उल्लेख गर्दै विकट क्षेत्रमा खटिने स्वास्थ्यकर्मीहरूको मूल्यांकन गरी प्रोत्साहन गरिने बताए।

नगरपालिकाले प्रत्येक वर्ष नियमित खोपको घरभेट सर्वेक्षण, खोप छुटेका बालबालिकाको खोज र पुनः खोप उपलब्ध गराउने कार्यलाई निरन्तरता दिने जनाएको छ।

स्वास्थ्यकर्मीको सम्मान
कार्यक्रममा खोप अभियानमा खटिएका स्वास्थ्यकर्मीहरूलाई दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिएको थियो। स्वास्थ्य कार्यालय डोटीका खोप संयोजक दिल्ली रमण जोशीले शिखर नगरपालिकाको यो उपलब्धिलाई जिल्लाको लागि गौरवको विषय भनेका छन्।