
कैलालीको भन्सार कार्यालयका प्रमुख अनन्त तिमिल्सिनामाथि कुटपिट गर्ने अभियोगमा थुनामुक्त भएका धनगढी नगर प्रहरीका तीन जना कर्मचारी पुनः पक्राउ परेका छन्।

जेठ १२ गते राति भन्सार कार्यालयभित्रै प्रवेश गरी कुटपिट गरेको आरोपमा पक्राउ परेका नगर प्रहरी निरीक्षक लक्ष्मणसिंह धामी, हवल्दार मणीदत्त भट्ट र जवान जितेन्द्र सिंह धामी मंगलबार जिल्ला प्रहरी कार्यालयको हिरासतबाट थुनामुक्त भएका थिए। तर, भन्सार कार्यालयले भन्सार ऐनअनुसार छुट्टै अनुसन्धान अघि बढाएपछि उनीहरूलाई पुनः नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
स्वास्थ्य समस्या भएका चालक थुनामुक्त
सवारी चालक हसनबहादुर मल्ल भने स्वास्थ्य अवस्था कमजोर भएको भन्दै थुनामुक्त गरिएको प्रहरीले जनाएको छ।


जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार, “भन्सार ऐनअनुसारको मुद्दा दर्ता भएकाले अनुसन्धानको प्रक्रियाअनुसार हिरासतमा लिइएको हो। भन्सार कार्यालयको अनुरोधमा हामीले प्रहरी सहयोग गरिरहेका हौँ।”
भन्सार आफैँले सुन्नेछ मुद्दा
उनीहरूमाथि भन्सार ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको छ। अब उक्त मुद्दा भन्सार कार्यालय कैलालीले आफैं सुनुवाइ गर्नेछ।
घटनाको पृष्ठभूमि
जेठ १० गते राति, नगर प्रहरी निरीक्षक धामी नेतृत्वको टोली कैलाली भन्सार कार्यालयभित्र अनधिकृत रुपमा प्रवेश गरी प्रमुख तिमिल्सिनामाथि कुटपिट गरेको थियो। यस घटनामा उनीहरुविरुद्ध अभद्र व्यवहार शीर्षकमा किटानी जाहेरी परेको थियो।




























