
कैलालीको गोदावरी नगरपालिका–८ स्थित स्याउले बजार चोक फराकिलो बनाउन लागिएको छ। सडक डिभिजन कार्यालय महेन्द्रनगरले चोकको विस्तार गर्ने तयारी गरेको हो।

इन्जिनियर चित्र चौलागाईंका अनुसार काम जोशी श्रीपुर जेभीले मंसिरमा पाएको हो, र असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य छ। अत्तरियादेखि पहलमानपुरसम्मको विभिन्न खण्डमा कालोपत्रे गरिने यो परियोजनाको लागत मूल्य अभिवृद्धि करसहित २ करोड ८४ लाख रुपैयाँ रहेको छ।

चोक साँघुरो भएको गुनासो बढेपछि स्याउले चोक दायाँबायाँ ७/७ मिटर फराकिलो बनाउने निर्णय भएको हो। यसै ठेक्काअन्तर्गत चोकको संरचना परिवर्तन गरिँदैछ।

चोकको बीच भागमा हाइमास्ट लाइट जडान भएपछि बाटो झन् साँघुरो बनेको र सवारी आवतजावतमा समस्या आएको स्थानीयको गुनासो थियो। अब चोक फराकिलो भएपछि यातायात सहज हुने अपेक्षा गरिएको छ।




























