
धनगढी उपमहानगरपालिका–१६, रामपुरस्थित बेहडाबाबा मन्दिरमा बुधवारदेखि गङ्गादशहरा मेला धुमधामका साथ सुरु भएको छ। धार्मिक आस्थाको केन्द्र मानिने यस स्थलमा प्रत्येक वर्षझैं यसपालि पनि गङ्गादशहरा पर्वको अवसरमा भव्य मेलाको आयोजना गरिएको हो।

मेला व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर चन्दका अनुसार, मन्दिरमा राति १२ बजे जल चढाएर पूजाआर्चना सुरु गरिएको हो। पूजाका लागि कैलाली, कञ्चनपुरसहित सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानबाट भक्तजनहरूको ओइरो लागिरहेको छ।
मन्दिर व्यवस्थापन समितिका अनुसार, बेहडाबाबा मन्दिर सुदूरपश्चिमको मात्र नभई राष्ट्रिय धार्मिक धरोहरको रूपमा चिनिन्छ। जनविश्वास अनुसार, यहाँ दर्शन गर्दा मनोकामना पूरा हुने विश्वास गरिन्छ, विशेषगरी पुत्र प्राप्ति र संकट निवारणका लागि यहाँ पूजाआजा गरिन्छ।

पर्वलाई मध्यनजर गर्दै धनगढी उपमहानगरपालिकाले सडक मर्मत, विद्युत बत्ती जडान तथा अन्य आवश्यक व्यवस्थापन गरेको जनाएको छ। नगरप्रमुख गोपाल हमालले बेहडाबाबाको महत्वलाई ध्यानमा राख्दै बिहीवार (जेठ २२ गते) सार्वजनिक बिदा दिएको जानकारी दिएका छन्।

भक्तजनहरूको सुविधाका लागि शिवगङ्गा नदीदेखि मन्दिरसम्म निःशुल्क बस सेवा सञ्चालन गरिएको छ। मेलामा नेपालका साथै भारतको लख्खीमपुर, पलिया, पिलिभित, उत्तर प्रदेश र उत्तराखण्डजस्ता विभिन्न स्थानबाट हजारौँ तीर्थयात्री आएको समितिले जनाएको छ।
मन्दिर परिसरमा भारतीय व्यवसायीहरूद्वारा विभिन्न पसलहरू पनि सञ्चालनमा आइसकेका छन्। बिहीवार बिहानैदेखि नेपाल–भारतका तीर्थयात्रीहरूको भीड लागेको छ।
पहिलो दिन जल चढाउने, पूजाआजासहित दर्शन कार्य भइरहेको छ। भक्तजनहरूलाई पश्चिम ढोकाबाट लाइन मिलाएर दर्शन गराइएको छ भने अपाङ्ग, वृद्ध तथा असहायका लागि उत्तर ढोकाबाट विशेष प्रवेशको व्यवस्था गरिएको छ।
मेलामा जेठ २५ गतेसम्म करिब एक लाख दर्शनार्थीले अवलोकन गर्ने अपेक्षा गरिएको छ। गङ्गादशहराका अतिरिक्त चैत अमावस्या, माघी, शिवरात्रि, नयाँ वर्ष र साउन महिनाको प्रत्येक सोमबार यहाँ भक्तजनहरूको उल्लेख्य उपस्थिति हुने गरेको समितिको भनाइ छ।





























