
विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय बझाङले वृक्षारोपण गरेको छ । प्लास्टिकजन्य प्रदूषण न्यूनीकरण, हाम्रो दायित्व“ भन्ने मूल नाराका साथ जयपृथ्वी नगरपालिका–९ मा रहेको जालपा मावि परिसरमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम गरेको हो । डिभिजन वन कार्यालय बझाङको आयोजना र जालपा माध्यमिक विद्यालय, देवलको समन्वयमा बृक्षारोपण गरिएको हो । विश्व वातावरण दिवसको अवसर पारेर पर्यावरणमा स्वच्छता बढाउन र विद्यार्थीहरूलाई वातावरण प्रति सजग बनाउने उद्देश्य साथ विद्यालय परिसरमा विभिन्न प्रजातिका वृक्षारोपण गरिएको हो ।

विद्यालय परिसरमा कपुर , बेल,अमला, बरपिपल,रिठा, लप्सी ,फुल लगाएत विभिन्न प्रकारका ७० वटा बिरुवाहरू रोपिनुका साथै विद्यालय परिसरमा सरसफाइ समेत गरिएको डिभिजन वन कार्यालयका प्रमुख शम्भु तिवारीले बताउनुभयो ।

कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालयका प्रमुख शम्भु तिवारीले वातावरण दिवसको ऐतिहासिक पृष्ठभूमि र यसको आवश्यकता स्पष्ट पार्दै प्रत्येक नागरिकले आफ्नो ठाउँबाट वृक्षारोपण तथा वातावरण संरक्षणमा योगदान दिनुपर्ने बताउनुभयो । जथाभाबी बन फँडानी रोक्न र सार्वजनिक स्थान तथा घर वरिपरि हरियाली कायम राख्न उहाँले आह्वान गर्नुभयो ।

कार्यक्रममा बोल्ने अन्य बक्ताहरूले बिरुवा रोप्न सजिलो तर हुर्काउन अत्यन्तै गाह्रो हुने भएकाले आफ्ना बालबच्चा सरह नियमित हेरचाह गर्नुपर्नेमा जोड दिनुभयो ।
बृक्षारोपण कायक्रममा नगर प्रमुख चेतराज बजाल ,सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशी , विद्यालयका शिक्षक–विद्यार्थी, सुरक्षाकर्मी तथा स्थानीयवासीहरूको सक्रिय उपस्थिति रहेको थियो।





















