
उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले पूर्वाधार विकासमा सरकारले तय गरेको परिकल्पना अनुसार काम भइरहेको बताएका छन्। गोदावरी नगरपालिका–३ चौकीडाँडामा एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा निर्मित एकीकृत फोहोरमैला व्यवस्थापन प्रणालीको उद्घाटन गर्दै उनले संघीय सरकार, स्थानीय तह र दातृ निकायको सहकार्यमा देशभर उल्लेखनीय पूर्वाधार विकास भइरहेको बताए।

उनका अनुसार सहरी विकास मन्त्रालयले १८५ वटा नगरपालिकाका लागि एकीकृत सहरी योजना तयार पारी कार्यान्वयनमा अघि बढेको छ। विशेषतः तराई–मधेसका नगरपालिकामा एक हजार किलोमिटरभन्दा बढी सडक तथा ढल निर्माण भइरहेको उल्लेख गर्दै उनले आवासविहीनलाई लक्षित गरी सुरक्षित र जनताको आवास निर्माण कार्यक्रम पनि प्राथमिकतामा राखिएको बताए।


गोदावरीको परियोजना सुदूरपश्चिमको नमुना बन्ने विश्वास व्यक्त गर्दै उनले यो प्रणालीले नगरलाई सफा, व्यवस्थित र दिगो बनाउने उल्लेख गरे। ५२ करोड ८४ लाख लागतमा निर्माण सम्पन्न भएको सो परियोजनामा ७५% रकम एडिबीको ऋण र २५% नेपाल सरकारको योगदान रहेको छ।
चीनको सिचुवान प्रोभेन्सियल जियोलोजिकल इन्जिनियरिङ कम्पनीले निर्माण गरेको सो केन्द्र पाँच हेक्टरमा फैलिएको छ। अबको तीन वर्ष निर्माण कम्पनीकै व्यवस्थापनमा रहनेछ र त्यसपछि गोदावरी नगरपालिकालाई हस्तान्तरण गरिनेछ। केन्द्रले दैनिक १३.५ टन फोहोर र १३ घनमिटर दिसाजन्य फोहोर प्रशोधन गर्नेछ।




















