
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले अब संयुक्त अरब इमिरेट्स (युएई) जाने नेपाली श्रमिकका लागि न्यूनतम तलब १ हजार दिरामभन्दा कम भए मागपत्र प्रमाणीकरण नहुने बताएका छन्। बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले अदक्ष, अर्धदक्ष र दक्ष श्रमिकका लागि क्रमशः १ हजार, १२ सय र १५ सय दिराम न्यूनतम तलब तय गरिएको जानकारी दिए।

परराष्ट्र मन्त्रालय र कानुन मन्त्रालयको सहमतिमा भएको यो निर्णय युएईमा न्यून तलबमा काम गर्न बाध्य नेपाली श्रमिकका लागि राहतदायी हुने मन्त्री भण्डारीको भनाइ छ। अबदेखि तोकिएको तलबभन्दा कम प्रस्ताव गर्ने रोजगारदाताले मागपत्र प्रमाणीकरण पाउने छैनन्।

सरकारले श्रमिकको तलब, स्वास्थ्योपचार र सामाजिक सुरक्षाको प्रत्याभूति गराउन प्रतिबद्ध रहेको भन्दै उनले नेपाली श्रमिकको हकहितका लागि कुनै पनि कमजोरी नगरिने स्पष्ट पारे।


















