
अत्तरियाः एचएफसी (HFC) संस्थाले गोदावरी नगरपालिका–३ मालाखेतीस्थित नवज्योति माध्यमिक विद्यालयलाई सूचना तथा प्रविधि (ICT) शिक्षाको सुरुआतका लागि पाँच थान कम्प्युटर हस्तान्तरण गरेको छ।

कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समिति अध्यक्ष चक्र नागरीले गरेका थिए भने प्रमुख अतिथि वडा नं. ३ का अध्यक्ष रहेका थिए। कार्यक्रममा एचएफसी अत्तरियाका शाखा संयोजक, गोदावरी नगरपालिका सामाजिक विकास शाखा प्रमुख, नगर कार्यपालिका सदस्य धनबहादुर बिक, वडा सदस्य उदे सार्की, समाजसेवी बालकृष्ण भट्टराई, तथा मालाखेती अस्पताल कार्यसमिति सदस्य देवेन्द्र जोशीको उपस्थिति रहेको थियो।


विद्यालयका तर्फबाट प्रधानाध्यापक बसन्ती भट्टलाई कम्प्युटर हस्तान्तरण गरिएको हो। कार्यक्रममा बोल्दै उनले विद्यालयको प्रविधिमा पहुँच अभिवृद्धिका लागि एचएफसी संस्थाले पुर्याएको योगदानप्रति आभार व्यक्त गरिन्।
विद्यालय परिवारले आगामी दिनमा पनि संस्थाबाट निरन्तर सहयोगको अपेक्षा गर्दै धन्यवाद व्यक्त गरेको छ। कार्यक्रममा सहभागिता जनाउने सबैलाई विद्यालय व्यवस्थापन समितिले विशेष कदर गरेको जनाएको छ। यस कार्यले ग्रामीण क्षेत्रका विद्यार्थीलाई डिजिटल शिक्षातर्फ अभिप्रेरित गर्ने विश्वास लिइएको छ।


































