
कैलालीको धनगढीस्थित खुला सीमा हुँदै करोडौं मूल्य बराबरको गाडी तथा सेक्स टोय भारततर्फ तस्करी भएको घटनाको सशस्त्र प्रहरी बलले छानबिन सुरु गरेको छ। वैद्यनाथ बाहिनीले सशस्त्र प्रहरीका डीएसपी जनकराज पन्तको नेतृत्वमा छानबिन समिति गठन गरी अनुसन्धान अघि बढाएको हो।

घटनाका क्रममा लापरबाही गरेको आरोपमा जुगेडा बिओपीका प्रमुख इन्सपेक्टर पुरन जैसीलाई सशस्त्रको ३४ नम्बर गण, धनगढीमा तानिएको छ। घटनाको बेला गणका एसपी भने विदामा थिए।
भारतको गौरीफन्टा कोतवाली प्रहरीले पक्राउ गरेको बोलेरो गाडी (UP31BT5163) बाट १० हजार ८०० थान सेक्स टोय र विजय सिंह रानाको घर नजिकै थप ९ हजार ३०० थान फेला परेको थियो। यी सामानहरू चाइनिज भएको प्रारम्भिक जानकारी छ। तस्करीको अनुमानित मूल्य भारतीय रुपैयाँ २ करोड १ लाख रहेको बताइएको छ।


यस प्रकरणमा नईम खान (४५) र अनिल अहमद (३४) पक्राउ परेका छन् भने विजय सिंह राना र सानू सिद्दीकी फरार छन्। सामान कैलालीको भजनी हुँदै सुखड, हसुलिया, र जुगेडा हुँदै भारततर्फ तस्करी गरिएको बुझिएको छ।
सिमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीको कमजोरी उजागर भएपछि छानबिन थालिएको हो। भारत–नेपाल सीमावर्ती क्षेत्रहरूबाट यस्ता गैरकानुनी कारोबार नियमितरूपमा भइरहेको प्रहरी स्रोतले जनाएको छ।



















