
अन्तरलिङ्गी व्यक्तिहरुले आफ्नो पहिचान अनुसार बाँच्न पाउन नसकेको जनाइएको छ । राज्यका कानुनका कारण उनीहरुले जीवन जिउन कठिन रहेको शुक्रबार धनगढीमा भएको कार्यक्रममा जनाएको हो । एकता नेपालको संयोजन र क्याम्पेन फर चेन्जको आयोजनामा भएको कार्यक्रममा यस्तो बताइएको हो ।

एक वा एकभन्दा बढि यौन विशेषताहरु, शारीरिक विविधता (यौन अङ्ग, प्रजनन् अङ्ग क्रोमोजोम वा हार्मोन) सहित जन्मिएका, महिला पुरुषको परम्परागत र सामाजिक परिभाषामा नमिल्ने अन्तरलिङ्गी व्यक्तिलाई उनीहरुको सहमति नलिई सल्यक्रिया गरेर दुःख दिइरहेको पाईएकाले त्यसो नगरी आफ्नो पहिचानअनुसार बाँच्न दिनुपर्ने क्याम्पेन फर चेन्ज निर्देशक इशान रेग्मीले कार्यक्रममा बताए ।
उनले बालबालिकालाई उहाँहरुको रुचि र इच्छाको जानकारी नहुँदै परिवारको दवाबले गर्ने सल्यक्रियाबाट वयस्क अवस्थामा पुग्दा आफु कुन पहिचानमा बाँच्ने भन्ने अन्योल हुने गरेको बताए । आफु अन्तरलिङ्गी हुँदा भोगेको समस्या अन्य व्यक्तिले पनि भोगिरहेका बताउँदै उनले आत्महत्या गर्ने वा भित्रभित्रै दबिएर बाँचिरहेका उल्लेख गरे ।


अन्तरलिङ्गी व्यक्तिको तथ्याङ्कको अभाव, समाजमा विभेद, लाल्छना, हिंसा हुने र परिवारले समेत नस्विकार्ने स्थितिले अन्तरलिङ्गी व्यक्तिहरुको मानवअधिकारको हनन् भइरहेको उनले प्रस्तुतीमा उल्लेख गरे । कानुनी पहिचान हुनुपर्ने, जथाभावि सल्यक्रिया गर्ने प्रवृत्ति विरुद्ध शारीरिक अखण्डता र आत्मनिर्णयको अधिकारको सुनिश्चित गर्नुपर्ने उनले जोड दिए ।
अन्तरलिङ्गी भएर जन्मिएकै आधारमा भेदभाव हिंसा गर्न नपाईने, गुणस्तरीय र समावेशी स्वास्थ्य सेवाको पहुँच हुनुपर्ने, अनुसन्धान र तथ्याङ्क सङ्कलन हुनुपर्ने, शिक्षा र रोजगारीको क्षेत्रमा समान अवसर दिनुपर्ने आवश्यक रहेको जनाइएको छ । जनगणना गर्दा महिला, पुरुष उल्लेख गर्ने ठाउँमा अन्तरलिङ्गी व्यक्तिको पनि अन्तरलिङ्गी पहिचान समावेश गर्नुपर्नेमा उनको जोड छ । जनगणनाको महलमा अन्य उल्लेख गरिएको भए पनि त्यसमा अन्तरलिङ्गी पहिचान नहुने उनले उल्लेख गरे ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सांसद सन्तोषी शर्मा थापाले अन्तरलिङ्गीहरुको अधिकारका लागि आफ्नो जहिले पनि सहयोग रहने प्रतिबद्धता जनाइन । मानिसको बाच्न पाउने अधिकारलाई हनन् गर्न नहने उनले जोड दिइन । कार्यक्रमका सहभागिहरुले अन्तरलिङ्गी पहिचानका बारेमा समाज स्पष्ट हुनुपर्ने बताएका थिए । कार्यक्रममा सरकारी तथा गैर सरकारी संस्थाहरुको प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।



















