
बाजुराको बुढीगङ्गा नगरपालिका–६ स्थित बाम्का बजारमा शुक्रवार दिउँसो खाना पकाउने ग्यासको सिलिन्डर पड्किएर भीषण आगलागी भएको छ। नवदुर्गा होटेलबाट सुरु भएको आगलागीले ३० वटा खुद्रा तथा कपडा पसल जलेर पूर्ण रूपमा नष्ट भएका छन्। प्रहरी नायब उपरीक्षक इकवाल हवारीका अनुसार आगलागीबाट करोडौँ रुपैयाँ बराबरको क्षति भएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यासहितको टोलीले घटनास्थलको अनुगमन गरेको छ। पीडितलाई यथाशीघ्र राहत उपलब्ध गराउन प्रदेश र संघीय सरकारसँग माग गरिएको छ। समितिको आकस्मिक बैठकले क्षतिको विस्तृत विवरण सङ्कलन गरी एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने निर्णय गरेको छ।

बैठकमा बुढीगङ्गा नगर प्रमुख रामबहादुर बानियाँ, बडीमालिका नगर प्रमुख अमरबहादुर खड्का, पूर्व सांसद लालबहादुर थापा लगायत सरोकारवाला निकायको उपस्थिति रहेको थियो। जिल्लामा दमकलको अभावले आगलागी नियन्त्रणमा समस्या भएको र ९ वटै पालिकाले गाडी खरिद गरे पनि दमकल नहुँदा जोखिम बढेको जनाइएको छ।





























