
वैदिक सनातन धर्मावलम्बीहरूले आज निर्जला एकादशीको अवसरमा घरघरमा तुलसीको दल राख्दै छन्। प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन राखिने यो दल एक महिनापछि हरिशयनी एकादशीका दिन रोपिन्छ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्मको अवधि ‘चतुर्मास’ भनिन्छ, जसमा तुलसीको विशेष पूजा गरिन्छ। यही अवधिमा तुलसीलाई हुर्काएर कार्तिक शुक्ल एकादशीमा भगवान दामोदर (विष्णु)सँग विवाह गरिने परम्परा छ। चतुर्मासभर स्नान, पूजन, व्रत र दानले पुण्य प्राप्त हुने विश्वास रहिआएको छ।
आजको दिनलाई ‘निर्जला एकादशी’ भनिने कारण व्रत बस्नेहरूले पानीसमेत नपिइ ब्रत बस्ने चलन छ। धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईका अनुसार, सक्नेले पूर्ण व्रत बस्न र नसक्नेले फलफूल खाएर बस्न सक्नेछन्।


आयुर्वेद अनुसार तुलसी स्वास्थ्यका लागि लाभकारी औषधीय वनस्पति हो, जसले श्वासप्रश्वाससम्बन्धी रोगमा राहत दिन्छ। आधुनिक विज्ञानले तुलसी अक्सिजन उत्सर्जनमा पनि प्रभावकारी भएको पुष्टि गरिसकेको छ।
यस अवसरमा देशभरका विष्णु मन्दिरहरूमा भक्तजनको भीड लागेको छ।





























