
टीकापुर नगरपालिका–७ खैरीपुर चेक पोस्टमा महिलामाथि हातपात गरेको आरोपमा दुई प्रहरीमाथि छानबिन सुरु गरिएको छ।

शुक्रवार साँझ चेकिङका क्रममा टीकापुर–१ की **२९ वर्षीया राजकुमारी कुवर (शाह)**माथि कुटपिट गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले अनुसन्धान अघि बढाएको हो।
पीडितको निवेदन र सार्वजनिक भिडियोको आधारमा प्रहरी नायब उपरीक्षक राजकुमार सिंहको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। घटनामा संलग्न प्रहरी कर्मचारीहरूलाई जिल्ला प्रहरी कार्यालयमै राखेर बयान लिइँदैछ।


भिडियोअनुसार स्कुटीको कागजात चेक गर्ने क्रममा हवलदार सुरेन्द्र बोहरा र सत्ती चौकी इन्चार्ज प्रहरी नायब निरीक्षक यज्ञराज पन्त सँग विवाद भएको थियो। ड्रेसमा नभएका पन्त र महिलाबीचको भनाभन हातपातमा पुगेको देखिन्छ।
घटना सार्वजनिक भएपछि प्रहरीको कार्यशैलीमाथि पुनः प्रश्न उठेको छ। पीडित पक्षले न्यायिक छानबिन र कडा कारबाहीको माग गरेका छन्।





























