
टिकटकर मिस पबीका नामले चिनिने पवित्रा साकीले विवाहको न्यूनतम उमेर २० बाट घटाएर १८ बनाउने प्रस्तावप्रति आपत्ति जनाएकी छन्। प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिको उपसमितिले विवाहको उमेर घटाउने सुझाव दिएपछि उनले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिएकी हुन्।

उनका अनुसार १७/१८ वर्ष उमेरका किशोरकिशोरीहरू शारीरिक रूपमा परिपक्व देखिए पनि मानसिक रूपमा “बेबी माइन्ड” हुने भएकाले विवाहयोग्य हुँदैनन्। “यो उमेरमा दीर्घकालीन सोच बन्ने अवस्था हुँदैन, कानुनले यस्तो संवेदनशील निर्णय गर्दा गहिरो सोच जरुरी छ,” उनले भनिन्।

साकीले विवाहको उमेर घटाउने सट्टा किशोरकिशोरीलाई गुणस्तरीय शिक्षा, स्वास्थ्य र भविष्य निर्माणतर्फ प्रेरित गर्न सरकारलाई आग्रह गरेकी छन्। उनले विशेष गरी दुर्गम तथा विपन्न समुदायका बालबालिकालाई यस निर्णयले नकारात्मक असर पार्न सक्ने चिन्ता व्यक्त गर्दै भनिन्, “बालबालिकाको भविष्यसँग खेलबाड नगर्नुस्।”

आफ्नै जीवन अनुभव उद्धृत गर्दै उनले जोड दिइन्, “१८ वर्ष विवाहका लागि उपयुक्त होइन, यो उमेर शिक्षाको अवसर दिनुपर्ने हो, विवाहको होइन।” उनको भनाइले सामाजिक सञ्जालमा समर्थन पाउँदै गएको देखिन्छ।




























