
अत्तरियाः कैलालीको गोदावरी नगरपालिकाले गोदावरी–२ मा रहेको महिला तथा बालबालिका सेभ हाउसलाई चार लाख रुपैयाँ बराबरको सामग्री सहयोग गरेको छ। गोदावरी नगरपालिका अन्तर्गत महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले चालु आर्थिक वर्षको बजेटबाट फर्निचर, खाद्यान्न, स्टेसनरीलगायत सामग्री सहयोग गरेको हो।


सहयोग हस्तान्तरण कार्यक्रममा गोदावरी नगर प्रमुख विरेन्द्र भट्टले सेभ हाउसकी अध्यक्ष जानकी मलासिलाई सामग्री हस्तान्तरण गरेका हुन । नगर प्रमुख भट्टका अनुसार, “सेभ हाउसमा आश्रय लिएका महिला तथा बालबालिकाको दैनिक जीवन सहज बनोस् भनेर खाद्यान्न सँगै स्टेसनरी, दराज, कुर्सी, टेबल लगायतका सामग्री सहयोग गरेका हौं।”
कार्यक्रममा शाखा प्रमुख गोदावरी धामीले सेभ हाउसले माग गरेअनुसार आवश्यक सामग्री उपलब्ध गराइएको बताइन्। उनका अनुसार, यो सहयोग चरणबद्ध रूपमा उपलब्ध गराउँदै आएको छ।
नगरप्रमुख भट्टले सेभ हाउसलाई व्यवस्थित आवासको आवश्यकता रहे पनि हालसम्म उपयुक्त स्थान फेला नपरेको उल्लेख गरे। साथै, उनले सेभ हाउसले सडक बालबालिका तथा पीडित महिलाहरूको व्यवस्थापनमा सरकारको कमजोरी गर्दै आएकोमा संस्थाको कामको सराहना गरे।

कार्यक्रममा पद्मा अस्पतालका सञ्चालक डा. नरबहादुर मौनीको समेत उपस्थिति थियो।
सेभ हाउसकी सञ्चालिका जानकी मलासीले निरन्तर सहयोग गरिरहेकोमा नगरपालिकाप्रति आभार प्रकट गरिन्।


























