
अत्तरियाः कैलालीको गोदावरी नगरपालिकाले ‘एक वडा, एक खेलमैदान’ अभियानसहित अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणको तयारी गरेको छ। नगरप्रमुख विरेन्द्र भट्टले आइतबार अत्तरियामा आयोजित छैठौं पिएफए भेट्रान्स कप क्रिकेट प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै उक्त योजनाको घोषणा गरेका हुन्।

उनले नगरपालिकाका सबै वडामा खेलमैदान निर्माण गर्न ‘एक वडा, एक खेलमैदान’ अवधारणाअनुसार काम अघि बढिरहेको जानकारी दिए। खेलप्रेमी युवालाई हौसला दिन तथा व्यवस्थापन पक्ष मजबुत बनाउन क्लबहरूसँग सहकार्य गरिने उल्लेख गर्दै भट्टले भने, “प्रत्येक वडामा रहेको क्लबहरूसँग समन्वय गरेर खेलमैदान निर्माणका लागि उपयुक्त स्थान पहिचान गरिँदैछ।”

भट्टका अनुसार, गोदावरी–३ मा रहेको ४६ बिघा खुला जमिनलाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको रूपमा विकास गर्न योजना बनाइएको छ। उक्त स्थलमा ३ वटा क्रिकेट पिच निर्माणको काम असारभित्र सम्पन्न गरिनेछ र आगामी दुई महिनाभित्र अभ्यास पनि सुरु हुनेछ।

उनले भने, “खेलकुद क्षेत्रको विकासमा स्थानीय सरकारको भूमिका सशक्त हुनुपर्छ। नगरपालिकाले बजेट अभावका कारण अन्य निकायहरूसँग सहकार्य गरेर रंगशाला निर्माण गर्ने तयारी गरेको छ।”


नगरप्रमुख भट्टले क्रिकेटको लोकप्रियता दिनप्रतिदिन बढिरहेको भन्दै पाँचदेखि छ वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने लक्ष्य लिएको जानकारी दिए।

कार्यक्रममा उनले विद्यालयहरूमा घट्दो अतिरिक्त क्रियाकलापप्रति चिन्ता व्यक्त गर्दै क्लबहरूद्वारा सञ्चालन हुने कार्यक्रमहरू सकारात्मक पहल भएको बताए।

अत्तरियाको पिएफए भेट्रान्स कपको छैटौं संस्करणको नगर प्रमुख भट्टद्धारा उद्घाटन




















