
अत्तरियाः गोदावरी नगरपालिकाका अन्तर्गत करार सेवामा कार्यरत कर्मचारीहरूले सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचिकरणसहितका सेवा सुविधा माग गर्दै नगर प्रमुख विरेन्द्र भट्टलाई ज्ञापनपत्र बुझाएका छन्।

ज्ञापनपत्रमार्फत कर्मचारीहरूले नेपाल सरकारको सम्बन्धित कानुनी प्रावधानहरूको हवाला दिँदै आफूहरूलाई सामाजिक सुरक्षा कोषमा समावेश गरिनु पर्ने, औषधि उपचार बीमा, दुर्घटना बीमा, सञ्चय कोष कटौती लगायतका सुविधा सुनिश्चित गर्न माग गरेका हुन्।
ज्ञापनपत्रमा श्रम ऐन, २०७४ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को विभिन्न धाराहरू उद्धृत गर्दै गोदावरी नगरपालिकामा लामो समयदेखि करारमा कार्यरत कर्मचारीहरू राज्यका अन्य श्रमिकसरह समान सेवा सुविधा पाउनुपर्ने उल्लेख छ।


सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्न २०७४ को श्रम ऐनको दफा ५२ र ५३ अनुसार आधारभूत पारिश्रमिकको दश प्रतिशत कर्मचारीबाट कट्टा गरी सो रकममा रोजगारदाताले शतप्रतिशत थप गरी कोषमा जम्मा गर्नुपर्ने कानुनी व्यवस्था कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ।
त्यसैगरी, कर्मचारीहरूको वार्षिक कम्तिमा १ लाख रुपैयाँ बराबरको औषधि उपचार बीमा तथा ७ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गरिनुपर्ने माग पनि गरिएको छ।
ज्ञापनपत्रमा करार कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कनको आधारमा सेवा स्थायित्वका लागि स्पष्ट नीति तथा कार्यविधि तयार गरी स्वीकृत गर्न समेत आग्रह गरिएको छ।
उनीहरूले आगामी आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षा योजनाका लागि आवश्यक रकम सुनिश्चित गर्नसमेत नगरपालिकालाई अनुरोध गरेका छन्।
नगर प्रमुख विरेन्द्र भट्टले ज्ञापनपत्र ग्रहण गर्दै करार सेवामा कार्यरत कर्मचारीहरूको मागहरू न्यायसंगत भएको बताउँदै पालिकाको आर्थिक स्रोतले भ्याएसम्म सबै कर्मचारीलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने नीति रहेको स्पष्ट पारे। उनले भने, “तपाईंहरूका मागहरू यथासक्य सम्बोधन गर्ने प्रयास हुनेछ। पालिकाको स्रोत र प्राथमिकताको सन्तुलनमा रहेर सामाजिक सुरक्षा जस्ता आधारभूत अधिकार सुनिश्चित गर्न हामी प्रतिबद्ध छौं।”






























