
भारतसँग जोडिएका दार्चुलाका विभिन्न सीमानाकाबाट दैनिक रूपमा नेपाल प्रवेश गर्ने नेपाली र भारतीय नागरिकमा कोरोना परीक्षण गर्न समस्या देखिएको छ। स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख वीरेन्द्र भट्टका अनुसार परीक्षणका लागि आवश्यक किटको अभाव भएको हो।

छिमेकी राष्ट्र भारतमा फेरि कोरोना संक्रमण फैलिन थालेको अवस्थामा भारतबाट फर्किएका नेपाली कामदार र नेपाल प्रवेश गर्ने भारतीय पर्यटकमा परीक्षण आवश्यक भए पनि किट नभएकाले परीक्षण हुन सकेको छैन।
“कोरोनाको लहर सकिएसँगै किटको प्रयोग नभएपछि समाप्त भयो, तर अहिले पुनः परीक्षण आवश्यक परेको छ,” प्रमुख भट्टले बताउनुभयो। “अबको दुई-तीन दिनभित्र नयाँ किट खरिद गरेर परीक्षण सुरु गर्ने योजना छ।”


जिल्ला अस्पताल दार्चुलामा पनि किट अभावकै कारण शंकास्पद व्यक्तिमा कोरोना परीक्षण हुन सकेको छैन। स्वास्थ्य कार्यालयले प्रदेश तथा संघ सरकारअन्तर्गतका सम्बन्धित मन्त्रालय र विभागहरूलाई परीक्षण किटको माग गरिसकेको छ।
दार्चुला सदरमुकाम खलङ्गास्थित नेपाल–भारत सीमा जोड्ने झोलुङ्गे पुल नजिकै रहेको हेल्थ डेस्कमा समेत किट नहुँदा परीक्षण गर्न नसकिएको त्यहाँका स्वास्थ्यकर्मीहरूले बताएका छन्।



















