
नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) सुदूरपश्चिम प्रदेश समिति तथा नेल्टा कैलालीको संयुक्त आयोजनामा गौरीगंगा–९, मसुरिया, कैलालीमा “पशु स्वास्थ्य सेवामा नेल्टाको भूमिका” विषयक अन्तर्क्रिया कार्यक्रमसहित १०औं स्थापना दिवस भव्य रूपमा सम्पन्न गरिएको छ।

कार्यक्रम नेल्टा सुदूरपश्चिम प्रदेश संयोजक लालबहादुर बोहराको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेल्टा केन्द्रीय सल्लाहकार गणेश धामीले संघको स्थापना कालदेखिको यात्रा, हालको अवस्था र पशु स्वास्थ्य सेवामा नेल्टाले खेलेको भूमिकाबारे प्रकाश पार्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि गौरीगंगा नगरपालिकाका उप–प्रमुख भोजबहादुर बमले नेल्टालाई राष्ट्रिय स्तरकै सबैभन्दा सक्रिय र ठूलो पेसागत ट्रेड युनियनको रूपमा उल्लेख गर्दै, कृषकहरूलाई गुणस्तरीय सेवा पुर्याउने कार्यमा संघको महत्वपूर्ण योगदान रहेको बताउनुभयो।

त्यसैगरी, वडा अध्यक्ष नारसिं सार्की, कार्यपालिका सदस्य रूपा जोशी, न्यायिक समिति सदस्य जानकी बोहरा, शिवशंकर सामुदायिक वन समिति अध्यक्ष बलबहादुर बोहरा लगायत विभिन्न पालिकाबाट आएका संयोजक तथा प्राविधिकहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा नेल्टा सुदूरपश्चिम प्रदेश कार्यसमिति सचिव हेमन्त बाजेले जानकारी दिनुभयो।






























