
सुदूरपश्चिम प्रदेशनेपालको चलचित्र क्षेत्रमा पछिल्ला वर्षहरूमा उल्लेखनीय प्रगति देखिएको छ। आधुनिक प्रविधि, नयाँ सोच र विविध शैलीमा बनेका फिल्महरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चा पाइरहेका छन्। तर, यो विकास अझै पनि राजधानी काठमाडौं केन्द्रित देखिन्छ। देशका अन्य प्रदेश, विशेषगरी सुदूरपश्चिम जस्तो भौगोलिक रूपमा दुर्गम क्षेत्रमा चलचित्रको पहुँच, सिर्जनात्मक अभिव्यक्ति तथा सिने-चेतनाको विस्तार सन्तोषजनक छैन।यही सन्दर्भलाई सम्बोधन गर्ने उद्देश्यले ‘सिनेमा संवाद धनगढी, कैलाली’ नामक विशेष कार्यक्रम प्रस्ताव गरिएको छ।

यो कार्यक्रम सिनेप्रेमी, फिल्म निर्माता, विद्यार्थी, पत्रकार, कलाकार तथा स्थानीय समुदायबीच सशक्त अन्तक्रिया र संवादको माध्यम बन्ने अपेक्षा गरिएको छ।‘सिनेमा संवाद’ केवल चलचित्र हेर्ने कार्यक्रम होइन; यो एक बहस, संवाद र सांस्कृतिक आदान–प्रदानको खुला मंच हो। यस कार्यक्रममार्फत समाजमा विद्यमान विविध मुद्दाहरूलाई चलचित्रको माध्यमबाट प्रस्तुत गर्ने प्रयास गरिनेछ। चलचित्र निर्माण, यसको सन्देश, सामाजिक प्रभाव, बजारको चुनौती र सिनेमा–समाज सम्बन्धबारे गहिरो छलफल गरिनेछ।

सुदूरपश्चिममा बढ्दो चलचित्र चासोलाई व्यवस्थित दिशातर्फ लैजान र स्थानीय प्रतिभाहरूलाई अवसर दिन यस कार्यक्रमले सशक्त भूमिका खेल्ने विश्वास लिइएको छ।चलचित्र केवल मनोरञ्जनको साधन होइन – यो समाजको ऐना हो। सिनेमा मार्फत यथार्थ, सपना, संघर्ष र सामाजिक परिवर्तनको चित्रण हुन्छ। आजको पुस्ता चलचित्रप्रति आकर्षित भए पनि यसको गहिरो पक्षबारे, विशेषतः सन्देश, निर्माण प्रक्रिया र सामाजिक प्रभावबारे खुला संवादको अभाव रहेको पाइन्छ।‘सिनेमा संवाद’ कार्यक्रमले यही अभाव पूर्ति गर्ने प्रयास गर्नेछ।कार्यक्रममा फिल्म निर्माता, निर्देशक, कलाकार, प्राविधिक, पत्रकार, विद्यार्थी, र स्थानीय समुदायका सदस्यहरू सहभागी हुनेछन्।

सहभागीहरूबीच चलचित्रका विविध पक्षमा अन्तक्र्रिया गरिनेछ।सर्वसाधारणका लागि यो कार्यक्रम निःशुल्क हुनेछ। सिनेमा बुझ्न चाहने, समाजसँग यसको सम्बन्ध जोड्न चाहने सबैका लागि यो सुनौलो अवसर हुनेछ।‘सिनेमा संवाद धनगढी, कैलाली’ एक यस्तो पहल हो, जसले सुदूरपश्चिममा चलचित्र चेतना फैलाउने मात्र होइन, स्थानीय प्रतिभाहरूलाई अभिव्यक्तिको अवसर दिनेछ। यसले नेपाली चलचित्रको भूगोल विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ। सो कार्यक्रम धनगढीको रूपस होटलमा जेठ ३१ गते हुने चलचित्र पत्रकार संघका अध्यक्ष पुष्पराज जोशीले जानकारी दिए ।



















