
अमेरिका र चीनबीच गत महिना भएको व्यापार सम्झौतालाई कार्यान्वयनमा लैजानका लागि दुबै देश ढाँचा बनाउन सहमत भएका छन्। लण्डनमा दुई दिनसम्म चलेको वार्तापछि संवेदनशील वस्तुको व्यापार पुनः सुरू गर्ने प्रक्रिया तय गरिएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङको अनुमतिपछि उक्त ढाँचा लागू हुने अपेक्षा गरिएको छ।

अमेरिकी वाणिज्य मन्त्री हावर्ड लटनिकले यो सहमतिले जेनेभामा भएको पुरानो सम्झौतालाई मजबुत बनाउने बताए। उनले हालै अमेरिकाले लगाएका केही निर्यात प्रतिबन्धहरू हटाइने जानकारी पनि दिए।
यद्यपि, ट्रम्पले पहिला उच्च ‘पारस्परिक’ भन्सार दर लगाएर चीनलाई दवाब दिएका थिए। चीनले पनि जबाफमा भन्सार दर बढाउँदै गयो। परिणामस्वरूप दुवै देशले व्यापार युद्धबाट घाटा व्यहोर्नुपरेपछि ९० दिनका लागि भन्सार दर घटाउने निर्णयमा पुगे।


जेनेभा सम्झौपश्चात दुबै देशले एक अर्कालाई सम्झौता उल्लंघनको आरोप लगाइरहेका छन्। अमेरिका दुर्लभ खनिज निर्यातबारे, चीन भने प्राविधिक पहुँच र भिसा कडाइबारे असन्तुष्ट देखिएको छ।
ट्रम्प–सीबीच ९० मिनेटको टेलिफोन संवादपछि लण्डन वार्ताले कार्यान्वयनको स्पष्ट ढाँचा तय गरेको हो।





























