
गोदावरी नगरपालिका वडा नं ३ चौकीडाँडामा प्रथम सम्भु प्रसाद भट्टराई स्मृती भेट्रान पेनाल्टी सुट आउट प्रतियोगिता हुने भएको छ ।

मालाखेतीको माउन्ट एभरेष्ट क्लबको आयोजनामा १ दिने पेनाल्टी सुट–आउट प्रतियोगिता हुन लागिएको हो । शुक्रबार आयोजक माउन्ट एभरेष्ट क्लबले पत्रकार सम्मेलनको आयोजना गरी यही असार ७ गते १ दिन भेट्रान पेनाल्टी सुट आउट हुन लागिएको जानकारी दिएको छ । सम्मेलनमा आयोजक माउन्ट एभरेष्ट क्लबका सचिव आशिष भट्टराईले खेल नक–आउट चरणमा खेलाईने भएको साथै ३० वर्ष उमेर वा सो उमेर भन्दा माथि समूहका टिमले सहभागी हुन पाउने बताए ।

युवामा खेलप्रति प्रेरणा जगाउँदै आपसी एकता मजबुत बनाउने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको उनले बताए । क्लबले हरेक वर्ष नियमित रूपमा यस्ता प्रतियोगिता गर्दै आएको साथै गत वर्ष ’नरेन्द्र कृष्ण स्मृति’ नाममा प्रतियोगिता सम्पन्न गरिएको उनले बताए । यस वर्ष “स्व.सम्भु प्रसाद भट्टराई स्मृती“ नाममा खेल प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा टीम प्रवेश शुल्क १ हजार रहेको छ । प्रतियोगिताको प्रथम पुरस्कार २१ हजार १ सय ११ नगद सहित ट्रफि, मेडल, प्रमाण पत्र प्रदान र द्वितीय पुरस्कार ११ हजार १ सय ११ नगद सहित ट्रफि मेडल प्रमाण पत्र रहेको छ । प्रतियोगितामा २० देखि ३० टीम सम्म सहभागी जनाउने अपेक्षा गरिएको छ । यस्तै प्रतियोगिता भरी १ लाख ४० हजार जती खर्च हुने अनुमान गरिएको छ । टीम दर्ता अन्तिम दिन असार ६ गते सम्म रहेको छ ।

सम्मेलनमा प्रतियोगिता को सह–प्रायोजक मानाङ्क फाउन्डेशन नेपालका संस्थापक तथा सञ्चालक समिति सदस्य बालकृष्ण भट्टराईले यस प्रतियोगिताको मूल उद्देश्य युवाहरुलाई सकारात्मक मार्गमा उन्मुख गराउनु रहेको बताए । उनले कोरोना महामारीको समयमा असामयिक निधन भएका स्वर्गीय सम्भु प्रसाद भट्टराईको सम्झनामा उक्त खेल प्रतियोगिता आयोजना गर्न लागिएको साथै स्व. भट्टराई वडा नं ३ का युवाहरुका अभिभावकका रूपमा चिनिन्थे र समाज सुधारतर्फ निरन्तर लागिरहेकाले उनको स्मृतिमा उक्त खेल प्रतियोगिता आयोजना गर्न गइरहेको बताए ।
यस्तै सञ्चालक समिति सदस्य भट्टराईले कुलत तथा गलत मार्गमा लागिरहेका युवाहरुलाई खेलमार्फत सकारात्मक दिशामा लैजान सकिने विश्वास व्यक्त गर्दै, यस्ता प्रतियोगिताले समाजमा फैलिँदै गइरहेका नकारात्मक क्रियाकलापहरुलाई घटाउने र युवाहरुलाई एकताबद्ध गर्दै सिर्जनशील कार्यतर्फ प्रेरित गर्ने उद्देश्य बोकेको जानकारी दिए ।
यस्तै भट्टराईले मानानक फाउन्डेसन नेपाल सामाजिक कार्यमा समर्पित संस्था रहेको र समाजमा विकृति तथा विसंगतिहरूको न्यूनीकरण गर्ने उद्देश्यले स्थापना गरिएको बताउँदै संस्थाले स्थापना काल देखि नै विभिन्न सामाजिक अभियानहरू सञ्चालन गर्दै आएको र फाउन्डेसनले निःशुल्क ‘महा प्रस्थान यान’ सेवा सञ्चालन गरिएको बताए ।
प्रतियोगिता चौकिडाँडा महिला सामुदायिक बन नजिक रहेको खेल मैदानमा हुने भएको हो । प्रतियोगिताको मुख्य प्रायोजक गोदावरी नगरपालिका ३ नं वडा कार्यालय र सह प्रायोजक मनाङ फाउन्डेसन नेपाल रहेको छ ।




















