
भारतबाट फर्किएका व्यक्तिहरूमा पुनः कोरोना सङ्क्रमण देखिन थालेको छ। प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार जेठ २१ यता प्रदेशमा १६ जनामा कोरोना पुष्टि भइसकेको छ। गौरीफन्टा, गड्डाचौकी, झुलाघाट र पुलघाट नाकामा हेल्थ डेस्क राखी एन्टिजेन विधिबाट परीक्षण भइरहेको छ।

गौरीफन्टामा मात्र पहिलो दिन तीन जनामा संक्रमण देखिएको थियो। तर, संक्रमितलाई न होल्डिङ सेन्टरमा राखिएको छ, न उपचारको स्पष्ट व्यवस्था गरिएको छ—उनीहरूलाई सामान्य परीक्षणपछि सिधै घर पठाउने गरिएको छ।
२८ करोड ८१ लाख रुपैयाँ खर्चेर बनाइएको धनगढीको बडहरास्थित होल्डिङ सेन्टर प्रयोगविहीन हुँदै जीर्ण अवस्थामा पुगेको छ। २२ वटा क्वारेन्टाइन, २२ चर्पी, १५ डाइनिङ हलसहितको संरचना अहिले खण्डहर बन्ने अवस्थामा पुगेको छ।


सरकारले निर्माण गरे पनि हालसम्म कुनै निर्देशन नआएकाले होल्डिङ सेन्टर प्रयोगमा आउन सकेको छैन।
स्वास्थ्य अधिकारी हेमराज जोशीका अनुसार संक्रमितमा सामान्य लक्षण देखिएकाले घरमै आइसोलेसनमा पठाइँदै आएको हो। तर, संक्रमित सिधै समुदायमा फर्किँदा कोरोना पुनः फैलने जोखिम अत्यन्त उच्च रहेको स्वास्थ्यकर्मीहरूको चेतावनी छ।
विशेषज्ञहरू भन्छन्—होल्डिङ सेन्टरमा कम्तीमा एक हप्तासम्म निगरानीमा राख्दा संक्रमण नियन्त्रण गर्न सकिन्छ, तर राज्यको निष्क्रियता गम्भीर स्वास्थ्य संकट निम्त्याउने दिशामा छ।




















