
धनगढीस्थित शारदा माध्यमिक विद्यालयद्वारा आयोजित जिल्ला स्तरीय विज्ञान तथा गणित प्रदर्शनी प्रतियोगितामा अत्तरियाको सत्यवती एकेडेमीले प्रथम स्थान हासिल गर्दै उत्कृष्ट प्रदर्शन गरेको छ।

शुक्रबार सम्पन्न प्रतियोगितामा सत्यवती एकेडेमीले उत्कृष्ट परियोजना प्रस्तुत गर्दै प्रमाणपत्रसहित नगद ८ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको हो।
प्रतियोगितामा दोस्रो स्थान पनि अत्तरियाकै दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालयले हात पार्दै क्षेत्रीय प्रतिस्पर्धामा अत्तरियाली विद्यार्थीहरूको वैज्ञानिक सोच र प्रस्तुतिको दबदबा देखिएको छ।


उक्त प्रतियोगितामा कैलाली जिल्लाका सबै स्थानीय तहबाट १ संस्थागत र १ सामुदायिक विद्यालय गरी दुई विद्यालयलाई प्रतिनिधित्व गराइएको थियो।
विज्ञान तथा गणितप्रति विद्यार्थीको रुचि अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा सहभागी विद्यालयहरूले विभिन्न नवीन प्रयोग, गणितीय अवधारणा र समस्या समाधानका उपायहरू प्रस्तुत गरेका थिए।
स्थानिय तहमा मौलिक र व्यवहारिक शिक्षा प्रवर्द्धन गर्न यस्ता प्रतियोगिताहरू प्रभावकारी हुने आयोजकको भनाइ छ। विजयी विद्यालयहरूलाई आगामी प्रदेशस्तरीय प्रतियोगिताका लागि सिफारिस गरिने जनाइएको छ।





























