
धनगढी-३ स्थित प्रज्ञा सदनले शनिबार आयोजित रक्तदान कार्यक्रममा १०९ पटक रक्तदान गरिसकेका पत्रकार दीपक उपाध्यायलाई सम्मान गरेको छ।

सुदूरपश्चिममै सबैभन्दा बढी पटक रक्तदान गरेर युवालाई प्रेरणा दिएका उपाध्यायलाई विशेष सम्मान प्रदान गरिएको विद्यालय सञ्चालक समितिका अध्यक्ष रामचन्द्र पनेरूले जानकारी दिए।
कार्यक्रममा विद्यालयका पूर्वविद्यार्थी, शुभकामना टोल विकास समिति, सङ्गलम टोल विकास समिति, शिक्षक, अभिभावक र स्थानीय बासिन्दा गरी २२ जनाले रक्तदान गरेका थिए।


प्रज्ञा सदनले रक्तदानको महत्त्वबारे जनचेतना फैलाउँदै यस्ता सामाजिक कार्यमा सक्रियता देखाएको छ।
उपाध्यायको निरन्तर योगदानले समाजमा सकारात्मक सन्देश दिएको भन्दै आयोजकले उनलाई सम्मानपत्रसहित सम्मान गरेको हो।





























