
अत्तरियाः कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी) सँगै निर्माणको तयारीमा रहेको दुग्ध प्रशोधन केन्द्रलाई अत्तरियामै राख्ने तयारीका लागि गोदावरी नगरपालिकाले संस्थानलाई ३ ठाउँमा जग्गा प्रस्ताव गरेको छ। यसै सन्दर्भमा डीडीसीका उपमहाप्रबन्धक राजेन्द्र प्रसाद अधिकारी गोदावरी नगरपालिकाले प्रस्ताव गरेका तीन स्थानको स्थलगत अवलोकनमा आएका छन्।

नगर प्रमुख गोदावरी नगरपालिका नगर प्रमुख बिरेन्द्र भट्टको नेतृत्वमा अधिकारीलाई वडा नं. १ मा वडा कार्यालय सँगै जोडीएको १ बिघा, वडा नं. ४ स्थित खैराना र बास्कोटाका २–२ बिघा गरी तीन स्थानमा रहेको जग्गा देखाइएको हो। तालाबन्दी र विरोधको माहोलबीच गोदावरी नगरपालिकाले लिखित रूपमा डीडीसीलाई जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि अवलोकनको प्रक्रिया अघि बढाइएको हो।


नगर प्रमुख भट्टका अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीसँग पटक–पटक फोनमार्फत अत्तरियामै संस्थान राख्न छलफल भइरहेको छ। उनले भने, “धनगढीमा सबै सुविधा भए पनि यहाँ प्रशोधन केन्द्र निर्माण भए गोदावरीका सयौं युवालाई रोजगारी दिन सकिन्छ उनले भने ।”
डिडीसीका लागि गोदावरी नगरपालिकाले प्रस्ताव गरेका तीन स्थानमा जमिन अवलोकन गर्दा डीडीसीका उपमहाप्रबन्धक राजेन्द्र प्रसाद अधिकारीले सकारात्मक प्रतिक्रिया व्यक्त गरेको भट्टले बताएका छन । उहाँले अहिलेको अबलोकनको प्रतिवेदन कृषि मन्त्रालयमा पेश भई सकारात्मक उत्तर आउनेमा आफू आशावादी रहेको बताएका छन्। नगर प्रमुख भट्टले अत्तरियामै डीडीसी रहने कुरामा आफू पूर्ण रूपमा विश्वस्त रहेको समेत स्पष्ट पारे।”

साथै आगामी आर्थिक वर्षको पूर्वसन्ध्यामा रहेको अवस्थामा, संस्थानले आवश्यक नक्सा तथा डिजाइन तयार पार्ने प्रक्रियालाई अघि बढाउँदै गर्दा गोदावरी नगरपालिकाको तर्फबाट फाउन्डेशनको काम गरिदिने प्रतिबद्धता नगर प्रमुख बिरेन्द्र भट्टले सार्वजनिक रूपमा घोषणा गरेका छन्।”
उता डीडीसीका उपमहाप्रबन्धक राजेन्द्र प्रसाद अधिकारीले हाल अत्तरियामा जारी तालाबन्दी खुलाउने र आवश्यक जग्गाको स्थलगत अनुगमनपछि तयार हुने प्रतिवेदन कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पेश गरेपछि मात्र प्रशोधन केन्द्र अत्तरियामै स्थापना हुने नहुनेबारे निर्णय स्पष्ट हुने बताएका छन्।”

केही महिना अगाडी डिडीसी अत्तरियाका कार्यालय प्रमुख निरञ्जन भट्टराइले गोदावरी नगर कार्यालयमा स्वयम् पुगेर पत्र बुझाएको र नगर प्रमुखले सरकारी जमिन देखाएको जानकारी दिएका थिए ।
तर २०८१ माघमा डीडीसीले गुपचुप रूपमा धनगढी उपमहानगरपालिका–१५ स्थित जडीबुटी प्रशोधन केन्द्रमा सार्ने सम्झौता गरेपछि अत्तरियामा विरोध चर्किएको हो। जेठ ८ गतेदेखि डीडीसी कार्यालयमा स्थानीयले तालाबन्दी गरेका हुन ।
स्थानीयले ‘डीडीसी संरक्षण सङ्घर्ष समिति’ गठन गर्दै अत्तरियामै डीडीसी राख्नुपर्ने माग गरिरहेका छन्। डीडीसीका उपमहाप्रबन्धक अधिकारीले अहिलेको निर्णय कृषि मन्त्रालयमा प्रतिवेदन पेशपछि मात्र हुने स्पष्ट पारेका छन्।




























