
कञ्चनपुर पुनर्वास नगरपालिका–५ सिमरीका ३३ वर्षीय गणेश गिरी मृत अवस्थामा फेला परेका छन्। उनी दुई दिनदेखि बेपत्ता थिए।

गिरी भारतको मुम्बईबाट बिहीबार दिउँसो ३ बजे कैलालीको डोके बजार पुगेका थिए। त्यहीँका कार्की होटलमा तीन जना साथीहरूसँग खाजा र मदिरा सेवन गरेका थिए। त्यसपछि उनी अचानक बेपत्ता भए।
शुक्रबार बिहानदेखि खोजी जारी रहेका गिरी शनिबार बिहान धनगढी उपमहानगरपालिका–३ स्थित विशालनगरको नाला नजिकै हिलाम्मे अवस्थामा अचेत फेला परेका थिए। उपचारका लागि लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।


पहिचान नखुलेपछि शव सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको थियो। शनिबार मृतकका परिवारले शवको सनाखत गरेका छन्। अहिले पोष्टमार्टमको प्रक्रिया अघि बढाइएको छ।
गिरी तीन वर्षपछि भारतबाट घर फर्कंदै थिए। उनका एक छोरा र एक छोरी छन्। घटना रहस्यमय देखिएको भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको छ। परिवारले मृत्युपछि उठेका प्रश्नको जवाफ खोज्न माग गरिरहेका छन्।



















