
इरान र इजरायलबीचको द्वन्द्व झन् चर्किएको छ। इजरायली आक्रमणमा एक २० वर्षीया महिलाको मृत्यु हुनुका साथै थुप्रै घाइते भएका छन्। इरानका तेल मन्त्रीले इजरायलले सहारास्थित तेल डिपोमा आक्रमण गरेको पुष्टि गरेका छन्।

इरानी राष्ट्रपति मसुद पजेस्कियानले इजरायली आक्रमण नरोकिए अझ शक्तिशाली प्रतिक्रिया दिने चेतावनी दिएका छन्। यस तनावबीच आइतबार तय भएको अमेरिका–इरान आणविक वार्ता स्थगित भएको छ।

इरानी रेभुलेसनरी गार्डले इजरायली हतियार भण्डारमा लक्षित गर्दै ३ क्रुज मिसाइल, १० ड्रोन र दर्जनौँ माइक्रो युएभी प्रयोग गरिएको जानकारी दिएको छ।

इजरायलको आक्रमणबाट तेहरानको तेल भण्डारण क्षेत्रमा भीषण आगलागी भएको दृश्य सार्वजनिक भएको छ। इजरायली रक्षा मन्त्री यो भिडियो सार्वजनिक गर्दै “तेहरान बलिरहेको छ” भनी टिप्पणी गरेका छन्। दुई इरानी नागरिकको ज्यान गएको पुष्टि भए पनि थप विवरण आउन बाँकी छ।



















