
अत्तरियाः गोदावरी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आर्थिक सहयोगमा “गोदावरी आविष्कार केन्द्र” द्वारा नवप्रवर्तन आधारित शैक्षिक सामग्री उत्पादन तथा कोडिङ/डिजाइन तालिम सञ्चालनमा आएको छ ।


तालिममा युवाहरूलाई नवप्रवर्तन, कोडिङ, डिजाइन तथा शैक्षिक सामग्री उत्पादनमा सीपयुक्त बनाउनुका साथै उनीहरूको रचनात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ आजबाट संचालनमा आएको हो ।

१५ देखि ३५ वर्ष उमेर समूहका गोदावरी नगरभित्र बसोबास गर्ने युवाहरूका लागि लक्षित उक्त ५ दिने तालिममा २० जना सहभागी रहेका छन ।

कैलालीको गोदावरी नगरपालिकामा मुनाफा वितरण नगर्ने पहिलो नवप्रवर्तन संस्था “गोदावरी आविष्कार केन्द्र” को उद्घाटन गरिँदै नवप्रवर्तनमा आधारित शैक्षिक सामग्री उत्पादन तालिमको औपचारिक सुरुवात गरिएको छ। विज्ञान र प्रविधिमा विद्यार्थी तथा शिक्षकहरूलाई प्रेरित गर्ने लक्ष्यसहित स्थापना भएको केन्द्रले २० जना स्थानीय युवालाई लक्षित गरी विशेष तालिम सञ्चालन गरेको हो।
कार्यक्रमको उद्घाटन गोदावरी नगरपालिका वडा नं. १ का अध्यक्ष तथा नगर प्रवक्ता गोपाल दत्त भट्टले गरेका थिए भने सभाध्यक्षतामा शिक्षा समिति सदस्य तथा शिक्षाविद् डा. डम्मर पाल रहेका थिए। कार्यक्रममा शिक्षा शाखा प्रमुख प्रयाग राज जोशी, प्रतिनिधि विष्णु अवस्थी, र अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै शिक्षा शाखा प्रमुख जोशीले “यो युग कृत्रिम बौद्धिकता (AI) को हो,” भन्दै यस्ता कार्यक्रमलाई नगरपालिका शिक्षा शाखाले निरन्तर साथ दिने प्रतिवद्धता जनाए। प्रमुख अतिथि गोपाल दत्त भट्टले प्रविधि र आविष्कारबाटै देश चिनिने र आर्थिक क्रान्ति सम्भव हुने बताए।
शिक्षाविद् डा. डम्मर पालले नयाँ पुस्ताले शिप सिकेर जीवन सुधार गर्नुका साथै कृषिमा समेत प्रविधिको उपयोग गरेर समृद्धितर्फ अघि बढ्नुपर्नेमा जोड दिए। उनले हलो जोतेर कृषिमा क्रान्ति सम्भव नरहेको उल्लेख गर्दै आधुनिक प्रविधिको उपयोग आवश्यक रहेको बताए।
उक्त अवसरमा किरण भट्टले गोदावरी आविष्कार केन्द्रले हालसम्म गरेका क्रियाकलापहरू डोमो र प्रोजेक्टरमार्फत दृश्य–प्रदर्शनीमार्फत प्रस्तुत गरेका थिए।
नवप्रवर्तन अध्ययन, अनुसन्धान तथा स्वरोजगार प्रवर्द्धनका माध्यमबाट युवाहरूलाई आत्मनिर्भर बनाउने दिशामा गोदावरी आविष्कार केन्द्रले चालेको यो कदम सुदूरपश्चिमको शैक्षिक र प्राविधिक भविष्य निर्माणमा कोशेढुंगा सावित हुने अपेक्षा गरिएको छ।





























