छोरी उठ न… तिमीले सुख दिन्छु भनेकी थियौ, तर आज आफैँलाई थाहा छैन कि तिमी पास भएकी छौ

Image
Nisarga Hospital

‘ऋण लागोस् तर दिन नलागोस्’ — यो भनाइ डडेल्धुराको लिम्बु परिवारको जिउँदो यथार्थ बनिरहेको छ। युवराज र धनमाया लिम्बुको जीवन सधैं गरिबी, पसिना र संघर्षमा बित्यो। अर्काको जमिन भाडामा लिएर बनाएको टहरो पनि साहुले बेचेपछि टुहुरो बनेको परिवारले आशाको उज्यालो छोरी बन्दनाको अनुहारमा देखेका थिए।

CP Hospital Dhangadhi

१८ वर्षीया बन्दना एसईई सकेर क्याम्पस पढ्ने सपना बुन्दै थिइन्। उज्यालो भविष्यको सपना बोकेर साइकल सिक्न निस्केकी बन्दना साउन ३१ गते लडिन्। बाटोमा लडेकी उनलाई मान्छेहरूले अस्पताल पुर्याए। टाउकोमा गम्भीर चोट लागेकी उनलाई धनगढीको निसर्ग अस्पताल ल्याइयो। अपरेसन गरियो। तर चमत्कार भएन।

महिना बिते, मौसम फेरिए, तर बन्दना उठ्न सकिनन्। ‘जता पल्टायो, त्यतै पल्टिन्छे’, आमाले भनिन्, ‘पुतलीजस्ती छोरी, कस्तो मुडोजस्ती भई!’

nawajiwan

त्यसपछि दोस्रो, तेस्रोपटक अपरेसन भयो। बाबुआमा हात जोडेर ‘ओहो छोरी कति लामो सुताइ भयो’ भनेर उठ्ने आशामा पर्खिरहे। तर आज एक वर्ष पुग्न लाग्दा पनि छोरीले आँखा पनि खुलेकी छैनन्। न बोल्छिन्, न फर्किन्छिन्।

Attariya Hospital

त्यहीबीच परीक्षाफल आयो। बन्दना पास भइन्। आमाले भने, ‘छोरी तिमी पास भयौ, उठ न! तिमीले हामीलाई सुख दिन्छु भनेकी थियौ। आज दुःख दिएर लडिरहेकी छौ।’ धनमाया भक्कानिन्छिन्।

अस्पतालले अहिलेसम्म एक रुपैयाँ पनि मागेको छैन। बेड नम्बर १४ लिम्बु परिवारको घर बनेको छ। महिनौंदेखि अस्पतालमै छन्, काम गर्न पाएका छैनन्। कहिले आफन्त, कहिले सहयोगी हातको भर।

छोरा जेलमा, छोरी बेहोस, आफ्नो बास छैन, आय छैन—यसो हुँदा पनि बाँचिरहेका छन्, छोरी उठ्ला भनेर।

अन्त्यमा, आमाले भनिन्—‘अब त यस्तो भन्न मन लाग्छ सर, कि निको बनाइदे दैव, कि सँगै लगिदे…’

यो केवल लिम्बु परिवारको कथा होइन, यो हजारौँ आमाबुबाको आँसु, छोरीको अधुरो सपना र जीवनको एक जिउँदो प्रार्थना हो।

Advertize US