
बोगटान फुड्सिल गाउँपालिकामा बिद्यार्थिलाई ‘बाआमा’ पुस्तक उपहार दिइएको छ । गाउँपालिका भित्र रहेका विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखी १२ सम्मका बिद्यार्थिलाई गाउँपालिकाले उपहार स्वरूप पुस्तक वितरण गरेको हो ।

पठन संस्कृतिको विकास गर्ने उद्देश्यका साथ गाउँपालिका कक्षा ६ देखी १२ सम्म पढाइ हुने एक दर्जन विद्यालयका एक हजार तिन सय पाँच बिद्यार्थिलाई ‘बाआमा’ र सेती काली नामक पुस्तक वितरण गरिएको शिक्षा तथा खेलकुद शाखा प्रमुख चेतराज बिनाडीले जानकारी दिए । बिनाडीले भने ‘विद्यार्थीको पढ्ने बानी पनि बसोस् लेख्न पनि सिकुन् हाम्रो कला संस्कृति र सम्मान बारे पनि जानुन् भन्ने हाम्रो उद्देश्य हो ।’

मदन पुरस्कार विजेता रामलाल जोशीले लेख्नु भएको बाआमा पुस्तक बिद्यार्थिलाई प्रदान गरिएको हो । जीवन जिउन र सन्ततिका लागी ‘बाआमा’ले गरेको सङ्घर्षका अनेकौँ कथाहरू समावेश भएको पुस्तक बिद्यार्थिलाई पढाउन सकेमा शिक्षा मात्रै होइन संस्कार पनि प्राप्त हुने बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले बताए । अध्यक्ष गडसिला भन्नु हुन्छ ‘पहिलो कुरा त यसले विद्यार्थीको पढेन बानिको विकास हुन्छ यस पुस्तकमा उनीहरूले आफ्ना बाउआमाले गरेको सङ्घर्ष देख्नेछन् फलस्वरूप पारिवारिक माया सद्भाव र अनुशासन अझै राम्रो बन्ने छ ।’
‘बाआमा’सँगै यज्ञराज उपाध्यायद्वारा लिखित सेती काली पुस्तक पनि वितरण गरिएको छ । सुदूरपश्चिमको कला संस्कृति ईतिहाँसका सन्दर्भमा लिखित अनुसन्धानात्मक उक्त पुस्तकले हराउँदै गएको कला संस्कृतिको रक्षा गर्ने अध्यक्ष गडसिलाले बताए ।
प्रविधिका कारण पठन संस्कृति हराउँदै गएको बेला पालिकाबाट भएको उक्त कामले पाठक र लेखक दुबैलाई प्रेरणा मिलेको ‘बाआमा’का लेखक रामलाल जोशीले बताए । जोशीले भने ‘बिद्यार्थिलाई असल संस्कार दिने पुस्तक पाए, लेखकले लेख्ने उत्प्रेरणा पाए जसले गर्दा समाज विद्यार्थी र लेखक सबैलाई राम्रो हुनेछ ।’
ऐना उपन्यास लेखेर मदन पुरस्कार जितको लेखक रामलाल जोशीको पुर्खेउलीघर बोगटान फुड्सिल गाउँपालिका–३ कानाचौर हो । विद्यालय मार्फत ‘बाआमा’ र ‘सेती काली’ पुस्तक सबै बिद्यार्थिलाई एक एक थान प्रदान गरिएको हो ।



















