
नेपाल–भारत सीमानामा पर्ने महाकाली नदीमाथिको झोलुङ्गे पुल भारतीय पक्षबाट बन्द गरिएको छ। पुल बन्द भएपछि नेपालको दार्चुला सदरमुकाम र भारतको धारचुलाबीचको आवतजावत अवरुद्ध भएको हो।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार भारतको धारचुलामा भएको एक हत्या प्रकरणमा संलग्न व्यक्तिहरू नेपालतर्फ भागेको आशंकामा भारतीय नागरिकहरूले दबाबस्वरूप पुल बन्द गरेका हुन्। ‘धारचुलामा भएको हत्या प्रकरणमा संलग्न दुई व्यक्ति नेपाल पसेको भनिएको छ, तर खोजी गर्दा फेला परेका छैनन्,’ प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। उनका अनुसार भारत सरकारको निर्णय नभई स्थानीय नागरिकहरूले आफ्नै सरकारलाई दबाब दिन यस्तो कदम चालेका हुन्।

हत्या भएको घटनाबारे जानकारी अनुसार, गत जुन ७ मा भारतको धारचुलामा कमलेश दानुको चक्कु प्रहार गरी हत्या भएको थियो। उक्त घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै अनुवाल समुदायका अध्यक्ष गुमान सिंह विष्टको नेतृत्वमा ज्ञापनपत्र बुझाइएको थियो।

पुल आज बिहान ११ बजेदेखि केहीबेर मात्र खुला भई फेरि बन्द गरिएको छ। दुवै देशका प्रशासनबीच समस्या समाधानका लागि समन्वय भइरहेको जनाइएको छ।




















