नातिको एउटा वचनले हजुरआमालाई स्कुलको डेस्कमा पुर्‍यायो

Image
Nisarga Hospital

कैलालीको गौरीगंगा–६ स्थित अमर माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत पार्बती कडायत उमेरले ५२ वर्ष पार गरेकी छन्। नातिसँग गृहकार्य गर्दा “तपाईंलाई त एक, दुई, तीन आउँदैन!” भन्ने नातिको शब्दले उनलाई गहिरो छुयो। त्यसपछि उनले पढ्न अठोट गरिन् र नातिसँगै विद्यालय भर्ना भइन्।

CP Hospital Dhangadhi
Attariya Hospital

पहिलो चरणमा कक्षा २ मा भर्ना भएकी पार्बती अहिले कक्षा ४ मा पुगिसकेकी छन्। चुलो–चौको सकेर झोला बोकी स्कुल जाने पार्बतीलाई सबैजना ‘हजुरआमा’ भनेर बोलाउँछन्। उनी अक्षर राम्ररी लेख्छिन्, गृहकार्य समयमै बुझाउँछिन् र कक्षामा ध्यान दिएर पढ्छिन्। अंग्रेजीमा केही अप्ठ्यारो भए पनि अन्य विषयमा राम्रो गर्दै आइरहेकी छन्।

शिक्षक नवीन बिष्टका अनुसार पार्बतीमा छिट्टै बुझ्ने र मन लगाएर पढ्ने क्षमता छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दान बहादुर कुँवरका अनुसार पार्बतीको उदाहरणले उमेरले पढाइ रोक्दैन भन्ने प्रमाणित भएको छ।

बचपनमा आमाको मृत्यु र विवाहका कारण स्कुल जान नपाएकी पार्बती अहिले आफ्नो अधूरो सपना पुरा गर्दै पढाइमा रमाइरहेकी छन्।

प्रस्तुति : हेमन्त राज जोशी (बाजे)

Advertize US