
इरान र इजरायलबीचको तनाव चुलिँदै जाँदा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सबै नागरिकलाई तेहरान छाड्न सुझाव दिएका छन्। ट्रम्पले सामाजिक सञ्जालमार्फत उक्त चेतावनी दिँदै इरानमा सुरक्षा संकट थप गहिरिएको संकेत गरेका हुन्।

यसअघि इजरायलले उत्तरपूर्वी तेहरान खाली गर्नुपर्ने बताउँदै इरानी सैन्य संरचनामाथि कारवाही गर्ने चेतावनी दिएको थियो। सोही सन्दर्भमा ट्रम्पले इरानले कुनै पनि हालतमा आणविक हतियार राख्न नपाउने कडा धारणा सार्वजनिक गरेका छन्।
ट्रम्पको चेतावनी सार्वजनिक भएलगत्तै तेहरानमा ठूलो विस्फोटको आवाज सुनिएको पुष्टि भएको छ। यता, इरानले पनि सोमबार राति इजरायलमाथि मिसाइल प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्, यद्यपि यसबारे विस्तृत विवरण अझ आउन बाँकी छ।


संयुक्त राष्ट्रसंघका लागि इरानी दूत अमिर सायद इरभानीले आफ्नो देशको आत्मरक्षा गर्न पाउने अधिकारको बचाउ गर्दै इजरायलमाथि निर्दोष सर्वसाधारणमाथि आक्रमण गरेको आरोप लगाएका छन्।
स्थिति दिनदिनै जटिल बन्दै गएकाले अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन आग्रह गरेको छ।





























