
अत्तरियाः कैलालीको गोदावरी नगरपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सुरु गरिएको छ। गोदावरी नगरपालिकाको सहकार्यमा बि–टेक सर्भिस प्रालिको आयोजनामा अत्तरियाको होटेल स्वागत ईनमा तालिम सञ्चालनमा आएको हो।


तालिम कार्यक्रम बिद्यालयकी प्रधानाध्यापक पुष्पलता रावलको अध्यक्षतामा सुरु गरिएको हो भने कार्यक्रममा प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्ट रहनु भएको थियो। तालिममा वडा नं. १ का अध्यक्ष गोपालदत्त भट्ट, शिक्षा शाखा प्रमुख प्रयागराज जोशी, शिक्षा विज्ञ डा. डम्बर पाल, डा. संजीव हुमागाईं, डा. बलराम तिमिल्सेना तथा नगर क्षेत्रभित्रका ५६ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा नगर प्रमुख विरेन्द्र भट्टले बोल्दै शिक्षा क्षेत्रमा गुणात्मक सुधार ल्याउन नगरपालिकाले विभिन्न योजनाहरू लागू गरेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “पालिकाको शैक्षिक उन्नति र प्रगतिका लागि तपाईहरू शिक्षकहरूको सुझावलाई ध्यानमा राखेर योजना बनाइरहेका छौँ। विद्यालय र समाजबीचको समन्वय, ‘नगर शिक्षक कार्यान्वयन , प्रत्येक वडाबाट कम्तीमा एक विद्यालय र सुप–समावेशी विद्यालयमा डिजिटल प्रविधिको प्रयोग, कक्षा ५ र ८ मा नगरपालिका स्तरीय परीक्षा सञ्चालन लगायतका कार्यक्रमहरू निरन्तर अगाडि बढाइरहेका छौँ।”

शिक्षा समिति सदस्य तथा शिक्षा विज्ञ डा. डम्बर बहादुर पालले हालको नगर नेतृत्वले शिक्षा क्षेत्रमा उल्लेखनीय सुधार गर्दै आएको बताउनुभयो। उहाँले गोदावरी नगरपालिकामा विद्यालय व्यवस्थापन र शैक्षिक सुधारका क्षेत्रमा पछिल्लो समय सकारात्मक रुपान्तरण आएको भन्दै नगर प्रमुख भट्टको नेतृत्वको प्रशंसा गर्नुभयो।

त्यस्तै, शिक्षा शाखा प्रमुख प्रयागराज जोशीले तालिममा सिकिएका सीप र ज्ञान अन्य शिक्षकहरूसँग बाँड्नुपर्ने कुरामा जोड दिनुभयो। उहाँले भने, “दुई दिने तालिमले प्रधानाध्यापकहरूमा शैक्षिक नेतृत्वको आत्मविश्वास बढाएको छ। अब यी सन्देशहरू अरू शिक्षकहरूसँग बाँड्न सकियो भने कक्षा कोठा परिवर्तन हुँदै जान्छ।”

तालिमको पहिलो दिन डा. संजीव हुमागाईंले शैक्षिक नेतृत्व र व्यवस्थापनका सैद्धान्तिक पक्षहरूमा प्रस्तुति दिनुभयो भने डा. बलराम तिमिल्सेनाले पाठ योजनाको प्रभावकारी कार्यान्वयन, सिकाइ मूल्यांकन विधि र शैक्षिक वातावरण निर्माणमा ध्यान दिनुपर्ने विषयमा प्रशिक्षण दिनुभयो।

गोदावरी नगरपालिकाले शिक्षा क्षेत्र सुदृढ गर्दै लैजान यस्ता कार्यक्रमलाई प्राथमिकता दिइरहेको छ। सहभागीहरूले तालिमलाई प्रभावकारी, उपयोगी र प्रेरणादायी बताउँदै आगामी दिनमा यस्ता कार्यक्रम निरन्तर सञ्चालन हुनुपर्ने अपेक्षा व्यक्त गरेका छन्। कार्यक्रमको संचालन शिक्षा प्रत्रकार टेकराज अबस्थीले गरेका थिए ।
































