
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीलाई बिना शर्त आत्मसमर्पण गर्न सुझाव दिएका छन्। उनले खामेनीको ज्यान अहिलेका लागि सुरक्षित रहेको तर निर्णय ढिलो भए खतरामा पर्ने चेतावनी दिएका छन्। ट्रम्पका अनुसार, “यदि उनी सहज आत्मसमर्पण गर्छन् भने जीवनरक्षा सम्भव छ, अन्यथा समय बाँकी छैन।”

इरान–इजरायल तनाव उत्कर्षमा पुगेको बेला खामेनीलाई दिएको ट्रम्पको यो कडा सन्देशले अन्तर्राष्ट्रिय समुदायको ध्यान तानेको छ। इजरायलले इरानको इफाहानसहित तीनवटा प्रमुख आणविक केन्द्रमा आक्रमण गरिरहेको छ भने बालिस्टिक मिसाइल प्रक्षेपण स्थल पनि लक्षित भएको बताइएको छ।

तेहरानमा व्यापक विस्फोट भइरहेका छन्। इजरायलको तेल अभिभ र हाइफालाई खाली गर्न इरानले चेतावनी दिएपछि स्थिति झन् विस्फोटक बनेको हो। राजधानी तेहरानमा त्रास फैलिएको छ र नागरिकहरू सुरक्षित स्थानको खोजीमा छन्, तर अधिकांशलाई सुरक्षित गन्तव्यको स्पष्टता छैन।

युद्धको बहाव बढ्दै जाँदा विश्व नेताहरू ट्रम्पको अर्को कदमबारे अड्कल गर्न थालेका छन्। इरान–इजरायल द्वन्द्वले विश्व राजनीति र सुरक्षामा ठूलो तरंग ल्याउने संकेत देखिएको छ।



















