
अत्तरिया: गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने तयारीस्वरूप एक दिनका लागि कार्यालय सेवा प्रवाह बन्द गर्ने भएको छ।

नगर कार्यपालिकाको कार्यालयले एक सूचना प्रकाशित गर्दै २०८२ असार ६ गते शुक्रबार बिहान १० बजे गोदावरी नगरपालिका–२ स्थित पार्टनर प्यालेस, तेघरीमा बजेट प्रस्तुत गरिने जनाइएको छ। सो कार्यक्रमका कारण सो दिन नगरपालिका तथा वडा कार्यालयहरूबाट प्रदान गरिने सेवा प्रवाह (जस्तैः अस्पताल, आधारभूत स्वास्थ्य सेवा केन्द्र, दमकल र सरसफाइ सेवाबाहेक) बन्द हुने जनाइएको छ।

नगरपालिकाले नगरवासी तथा सेवाग्राहीहरूलाई असुविधा नहोस् भन्नका लागि पूर्व जानकारी गराउँदै आवश्यक सहकार्य र समझदारीका लागि आग्रह समेत गरेको छ। सूचनामा कार्यक्रमको सफल सञ्चालनका लागि गरिएको व्यवस्थाले सेवा प्रवाहमा पर्ने अस्थायी प्रभावका लागि क्षमायाचना गरिएको छ।

गोदावरी नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत धर्मराज विनाडीद्वारा हस्ताक्षरित सूचनामा सबै सेवाग्राहीलाई सहयोगका लागि अनुरोध गरिएको छ।




















