
गोदावरी नगरपालिका–१, कैलालीस्थित सैपाल ग्याँस प्रा.लि.ले ग्यासजन्य दुर्घटनाको न्यूनीकरण गर्ने उद्देश्यसहित जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। असार ४ गते ऐश्वर्य विद्या निकेतन विद्यालयमा आयोजित उक्त कार्यक्रम जिल्ला प्रशासन कार्यालय, कैलाली र सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण (हेड क्वार्टर) को सहकार्यमा सम्पन्न भएको हो।

कार्यक्रममा विद्यालयका समन्वयकले भने, “आज हरेक घरमा ग्यास सिलिन्डर छ, तर यसको सुरक्षित प्रयोगबारे थोरैलाई मात्र जानकारी छ। यही कारणले गम्भीर दुर्घटना भइरहेका छन्। यस्तो जनचेतनामूलक कार्यक्रम आजको आवश्यकता हो।”

उक्त कार्यक्रममा ग्यास लिक भएमा अपनाउनुपर्ने सावधानी, लिकेजको सम्भावित कारण, समाधानका उपाय, ग्यास खरिद गर्दा ध्यान दिनुपर्ने पक्षहरू, र फायर एक्स्टिङ्गुइशरको प्रभावकारी प्रयोगबारे विस्तृत जानकारी दिइएको थियो। सहभागीसामु प्रत्यक्ष (Live Demo) प्रदर्शन पनि गरिएको थियो, जसले कार्यक्रमलाई थप प्रभावकारी बनायो।

सशस्त्र प्रहरी बलका एएसआई क्षेतेन्द्र मल्लले आगो नियन्त्रणसम्बन्धी जानकारी दिँदै फायर एक्स्टिङ्गुइशरको प्रयोगबारे प्रत्यक्ष अभ्यास गराएका थिए।
सैपाल ग्याँस प्रा.लि.का मार्केटिङ म्यानेजर मनोज दाहालले एलपी ग्यासको सुरक्षामूलक प्रयोग, लिकेजका कारणहरू, र सावधानीका उपायबारे प्रस्ट पारे। उनले भने, “सुदूरपश्चिममा ग्यासजन्य दुर्घटनाहरू दिनप्रतिदिन बढ्दो छन्। यसको प्रमुख कारण जनचेतनाको अभाव हो। हामी सामाजिक उत्तरदायित्वका रूपमा सचेतनामूलक कार्यक्रम गर्दैछौं। पहिलो चरणमा एभीएन, एएमसी र पञ्चोदय मा.वि.मा विद्यार्थी केन्द्रित कार्यक्रम सञ्चालन हुनेछ।”
दाहालका अनुसार, विद्यार्थीमार्फत परिवार र समाजमा चेतना फैलाउने लक्ष्य रहेको छ। आगामी असार ५ गते ऐश्वर्या बहुमुखी कलेज र असार ६ गते पञ्चोदय मा.वि.मा कार्यक्रम संचालन गरिनेछ।
एलपी ग्यासको प्रयोगः सुविधा र चुनौती
नेपालमा खाना पकाउने एलपी ग्यासको प्रयोग विगत ५२ वर्षदेखि हुँदै आएको छ। हाल देशभर ५९ वटा एलपी ग्यास कम्पनीहरूबाट मासिक औसत ४९,५०० मेट्रिक टन ग्यास आयात भई लगभग ३४ लाख सिलिन्डरको खपत भइरहेको छ।
एलपी ग्यासको प्रयोगले वातावरणीय प्रदूषण कम गर्दै सार्वजनिक स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको भए पनि, यसको लापरवाहीपूर्ण प्रयोगले भयावह दुर्घटना निम्त्याउने गरेको छ। विगतदेखि हालसम्म ग्यास लिक र विस्फोटका कैयौं घटनाहरूले जनधनमा क्षति पुर्याएको उदाहरणहरू प्रशस्त छन्।
वर्तमान परिप्रेक्ष्यमा एलपी ग्याससम्बन्धी जनचेतना अभाव नै प्रमुख कारण भएको देखिएकोले, यस्ता जनचेतनामूलक कार्यक्रमहरू निरन्तर रुपमा आवश्यक छन्।

































