आफूलाई बर्खास्त गर्न सुदूरपश्चिमका मुख्यमन्त्रीलाई वनमन्त्री चौधरीको चुनौती

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीले मुख्यमन्त्री कमलबहादुर शाहलाई चुनौती दिएका छन् । आफूले कुनै गल्ती नगरेको दाबी गर्दै चौधरीले पदबाट राजीनामा नदिने अडान लिएका हुन् ।

CP Hospital Dhangadhi

मुख्यमन्त्री शाहले चौधरीलाई कृषि मन्त्री रहेका बेला पावर टिलर अनुदान वितरणसम्बन्धी विवादमा मुछिएको भन्दै राजीनामा दिन निर्देशन दिएको विषय सार्वजनिक भएपछि मन्त्री चौधरीले स्पष्ट प्रतिक्रिया दिएका हुन् ।
‘उहाँले मलाई दुई पटक फोन गरेर राजीनामा दिन आग्रह गर्नुभयो,’ मन्त्री चौधरीले भने, ‘तर मैले कुनै गल्ती गरेको छैन । गल्ती गरेको छु भने आफ्नो अधिकार प्रयोग गरेर मलाई बर्खास्त गर्नुहोस् भनेको छु ।’

उनले तत्कालीन कृषि मन्त्री हुँदा कुनै अनियमितता नभएको जिकिर गरे । ‘बाहिर जसरी कुरा आएको छ, त्यसो होइन,’ उनले थपे, ‘पावर टिलर अनुदान वितरणमा कुनै कमजोरी छैन । मलाई बदनाम गर्न बनाइएको फण्डा हो ।’

nawajiwan

चौधरीका अनुसार विवादको जड खप्तड क्षेत्र विकास समितिको कार्यकारी निर्देशक खेम जोशीको नियुक्ति हो । ‘हामीले खेम जोशीलाई नियुक्त गरेपछि उहाँको मन पर्ने मान्छे परेन भनेर मलाई हटाउन खोजिएको हो,’ चौधरीले दाबी गरे ।

Attariya Hospital

उनले राजीनामा नदिने स्पष्ट घोषणा गरेपछि अब मुख्यमन्त्रीले उनलाई बर्खास्त गर्ने वा नगर्ने भन्ने टुंगो लाग्न बाँकी छ । स्रोतका अनुसार मुख्यमन्त्रीले बर्खास्त गर्नेभन्दा चौधरीले आफैं राजीनामा गरे सकारात्मक सन्देश जाने सोच बनाएका छन् ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) संसदीय दलका नेता घनश्याम चौधरीले पनि मन्त्रीबाट गल्ती भए मुख्यमन्त्रीसँग बर्खास्त गर्न सक्ने अधिकार रहेको बताएका छन् । ‘मन्त्रीको गल्ती छ भने मुख्यमन्त्रीले अधिकार प्रयोग गर्नुपर्छ,’ उनले भने, ‘बिना कारण राजीनामा माग्नु उचित हुँदैन ।’

रामेश्वर चौधरी ४ जेठमा मन्त्री बनेका थिए । त्यसअघि दीगो वन व्यवस्थापन कार्यविधिमा अनियमितता योजनामा संलग्न भएको आरोप लागेपछि तत्कालीन मन्त्री लक्ष्मणकिशोर चौधरीले राजीनामा दिएका थिए । त्यसपछि नाउपाले रामेश्वर चौधरीलाई मन्त्री पठाएको हो ।