
गौरीगंगा नगरपालिका–२, चौमालामा खोलाले बगाएर बेपत्ता भएका एक पुरुषको शव फेला परेको छ।

बुधबार साँझ खोलाले बगाएका गौरीगंगा–१, गोप्का निवासी ६५ वर्षीय नरबहादुर ताम्राकारको शव बिहीबार बिहान ७:०० बजे चौमाला–२ स्थित धबै नजिकैको खोलामा फेला परेको हो।
इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी नायब निरीक्षक योगेन्द्र बलायरका अनुसार मृतक ताम्राकारको शव खोलामा घोप्टो परेको अवस्थामा भेटिएको हो। शव पोष्टमार्टमका लागि धनगढी पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।


बुधबार साँझ ५:१५ बजेतिर पुरानो चौमाला बजारबाट घर फर्किने क्रममा खोलाको बहावमा ताम्राकार बगाएको जानकारी स्थानीय **हेमन्तराज जोशी (बाजे)**ले दिएका छन्।
लगातारको वर्षासँगै खोला बढेकाले स्थानीयवासीलाई सतर्कता अपनाउन प्रहरी प्रशासनले आग्रह गरेको छ।





























