
चौमाला: गौरीगंगा नगरपालिका–१, चौमालास्थित मोहन्याल मन्दिर परिसरमा नक्षत्र बाटिका निर्माण कार्य सम्पन्न भएको छ।

मन्दिर उपभोक्ता समितिमार्फत निर्माण सम्पन्न गरिएको सो नक्षत्र बाटिका सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइबाट प्राप्त रु २७ लाखको लगानीमा निर्माण गरिएको हो।


निर्माण समितिका सदस्य प्रकाश गुरुङका अनुसार बाटिकामा राशि अनुसारका २७ प्रजातिका बिरुवाहरू रोपिएको छ। साथै, बगैंचामा लाइट जडान र रंगरोगन कार्यसमेत सम्पन्न गरिएको छ।
मोहन्याल मन्दिरका पुजारी तोयानाथ जोशीका अनुसार पूर्वीय दर्शनमा आधारित नक्षत्र बाटिकामा १२ राशि, ९ ग्रह र २७ नक्षत्रलाई ध्यानमा राखी अमला, जामुन, पिपल, वर, बेल, निम, खयर, कुश, दुबो, गुलर, कटहर लगायतका बिरुवाहरू रोपिएका छन्।
पुजारी जोशीका अनुसार ग्रह–नक्षत्रको सन्तुलनका लागि यस्ता बिरुवाहरूको धार्मिक र आयुर्वेदिक महत्व रहँदै आएको छ। बाटिकाको निर्माणले मोहन्याल मन्दिरको धार्मिक पर्यटकीय महत्त्व बढ्ने विश्वास गरिएको छ।





















