कैलाली कारागारमा कैदीको मृत्यु प्रकरण : छानबिन समिति गठन, परिवारले दियो प्रहरीमाथि ह*त्या आरोप

Image
Nisarga Hospital

धनगढीः कैलाली कारागारमा एक कैदीको रहस्यमय मृत्यु भएपछि प्रशासनले सात सदस्यीय छानबिन समिति गठन गरेको छ। बैंकिङ कसुरमा जेल सजाय भुक्तान गरिरहेका डडेल्धुरा भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिशसिंह पालीको असार १ गते मृत्यु भएपछि छानबिन सुरु गरिएको हो।

CP Hospital Dhangadhi

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा गठित समितिमा प्रशासकीय अधिकृत शिवराज जोशी, डीएसपी राजकुमार सिंह, मुद्दा शाखाका प्रहरी निरीक्षक र हवल्दार, राष्ट्रिय अनुसन्धान विभागका एक प्रतिनिधि र डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष लोकराज भट्ट सदस्य छन्।

मृतक पालीलाई डडेल्धुरा प्रहरीले जेठ २९ गते सदरमुकामबाट पक्राउ गरी जेठ ३० मा कैलाली प्रहरीलाई हस्तान्तरण गरेको थियो। असार १ गते साँझ पालीलाई कैलाली कारागारमा पुर्‍याइएको थियो। तर, त्यही रात अचानक बिरामी परेपछि उनलाई सेती प्रादेशिक अस्पताल पुर्‍याइएको र आधा घण्टामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी सिंहले जनाए।

nawajiwan
Attariya Hospital

मृतकका आफन्तले भने पालीको मृत्यु स्वाभाविक नभएको दाबी गर्दै प्रहरीकै हातबाट कुटपिट भएको आरोप लगाएका छन्। उनकी पत्नी जानकी साउँदका अनुसार, प्रहरी सई हरिजित नाथले पटक–पटक फोनमार्फत धम्की दिँदै आएका थिए। ‘प्रहरीले जानकारी नदिई निजी सवारीमार्फत उनलाई कारागार लगिएको थियो,’ उनले भनिन्, ‘सई नाथकै कुटपिटबाट उनको मृत्यु भएको हो।’

सई नाथले २०७९ जेठ २८ मा पालीले दिएको २ लाख रुपैयाँ बराबरको चेक बाउन्स भएको भन्दै जाहेरी दिएका थिए। उक्त जाहेरीका आधारमा २०८० फागुन २९ गते जिल्ला अदालत कैलालीले २ लाख रुपैयाँ जरिवाना र १० दिन कैदको सजाय तोकेको थियो।

पालीको मृत्यु भएको भोलिपल्टै सार्वजनिक भएको भिडियोमा उनको शरीरभरि निलडाम देखिएको आफन्तले बताए। ‘बिरामी व्यक्तिको शरीरमा निलडाम कहाँबाट आयो?’ आफन्त जगदिश रावलले भने, ‘हामी किटानी जाहेरी दिन तयारीमा छौँ।’

मृतकको शव पोस्टमार्टम नभएकाले अनुसन्धान अगाडि नबढेको प्रहरी बताउँछ। प्रशासनले छानबिन समितिबाट सत्यतथ्य सार्वजनिक हुने जनाएको छ।