
कैलालीको अत्तरियामा नवप्रवर्तन, अनुसन्धान तथा आविष्कार प्रवर्द्धनमा केन्द्रित पाँचदिने तालिम सफलतापूर्वक सम्पन्न भएको छ। गोदावरी नगरपालिकाको सहकार्यमा गोदावरी आविष्कार केन्द्रले आयोजना गरेको तालिममा ३० जना सहभागी थिए।

बिहीबार एक औपचारिक कार्यक्रमका बीच तालिमको समापन गरिएको थियो। समापन समारोहमा गोदावरी नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रयागराज जोशी प्रमुख अतिथि थिए भने कार्यक्रमको अध्यक्षता डा. डम्बर बहादुर पालले गरेका थिए।

तालिममा इन्जिनियर किरण भट्ट, इन्जिनियर सम्राट भट्ट, लक्ष्मी प्रसाद खनाल, कर्मा एजुकेशन सेन्टरका सञ्चालक कुबेर खड्कालगायतको उपस्थिति थियो। प्रशिक्षक किरण भट्टका अनुसार सहभागीहरूलाई कम्प्युटर डिजाइनिङ, प्रविधिहरूको आपसी एकीकरण तथा इन्टरनेटसँग कसरी समन्वय गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिइएको थियो।

तालिमको क्रममा विद्यार्थीहरूले सिकेका सीपहरू प्रायोगिक रूपमा प्रस्तुत गरेका थिए। गोदावरी नगरपालिकाले तालिम सञ्चालनका लागि ५ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो। प्रशिक्षण कार्यमा शेखरराम साउँद, धु्रव बोहरा, सम्राट भट्ट, किरण भट्ट र लक्ष्मी प्रसाद खनालको सक्रिय भूमिका रहेको थियो।

















