
बैतडीको सुर्नया गाउँपालिका–७ र ८ का बस्तीमा ठेउला रोगको सङ्क्रमण पुष्टि भएको छ। हालसम्म १२ जनाभन्दा बढीमा उक्त सङ्क्रमण देखिएको स्वास्थ्यकर्मीहरूले जनाएका छन्। बालबालिकामा संक्रमणको प्रभाव बढी देखिएकोले विशेष सतर्कता अपनाइएको छ।

स्वास्थ्य शाखा प्रमुख रामसिंह महराका अनुसार संक्रमितमा बिमिरा आउने, ज्वरो, खोकीजस्ता लक्षण देखिएका छन्। प्रभावित बिरामीलाई आइसोलेसनमा राख्न सिफारिस गरिएको उनले बताए। स्थानीय तह र स्वास्थ्य कार्यालय बैतडीको समन्वयमा घरदैलोमै पुगेर प्रारम्भिक उपचार र जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन भइरहेको छ।
यसैबीच, ठेउला नै भएको यकिन गर्न विश्व स्वास्थ्य सङ्गठन (WHO) को विशेषज्ञ टोली बिहीबार बिहान स्थलगत अनुगमनका लागि सुर्नया पुग्ने भएको छ।


शिखरपुर स्वास्थ्य चौकीका प्रमुख बिरबहादुर बोहराका अनुसार, प्रभावित क्षेत्रहरूमा नियमित निगरानी, स्वास्थ्य सेवा र सचेतनामूलक कार्यक्रम जारी छन्। रोग फैलिन नदिन स्वास्थ्यकर्मीहरू सतर्क छन् भने स्थानिय जनतालाई स्वच्छता कायम गर्न, भीडभाड नगर्न र लक्षण देखिएमा स्वास्थ्यकर्मीलाई तुरुन्त खबर गर्न अनुरोध गरिएको छ।
गाउँपालिकाको समन्वयमा संक्रमण नियन्त्रण तथा रोकथामका लागि आवश्यक औषधी र स्वास्थ्य सामग्रीको व्यवस्था समेत गरिएको छ।





























