
सुदूरपश्चिम प्रदेशमा सञ्चालनमा रहेका उद्योगहरूमा १,४५३ जनाले रोजगारी पाएका छन्। राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/८२ को अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन अनुसार तीमध्ये ९०.९८ प्रतिशत पुरुष र ९.०२ प्रतिशत महिला छन्। कुल रोजगारीमध्ये २१.९५ प्रतिशत विदेशी कामदार रहेका छन्।

राष्ट्र बैंकले तेल, चामल, गहुँको पिठो, चिनी, काठ, साबुन, इँटा, रोजिन एन्ड टर्पेन्टाइन जस्ता उद्योगहरूमध्ये १३ वटा उद्योगको तथ्यांक संकलन गरी अध्ययन गरेको हो। प्रशोधित दूध उद्योग सञ्चालनमा नरहेकाले सोको विवरण मात्र समेटिएको छ।

उद्योगहरूको औसत क्षमता उपयोग ३५.७९ प्रतिशतमा सीमित देखिएको छ। तोरीको तेल र कंक्रिट उद्योगको क्षमता उपयोग बढी भए पनि चामल, चिनी, गहुँको पिठो, साबुन र इँटा उद्योगको क्षमता औसत स्तरमा रहेको छ। रोजिन उद्योग भने कच्चा पदार्थको अभाव र ढिलाइका कारण पूर्ण रूपमा बन्द रहेको छ।

इँटाको उत्पादन १५० प्रतिशतले बढेको छ भने अन्य सबै उद्योगको उत्पादन घटेको छ। मुख्यतः कच्चा पदार्थ अभाव, व्यापारिक गतिविधिमा सुस्तता र माग नबढ्नुका कारण उत्पादन ह्रास भएको प्रतिवेदनमा उल्लेख छ।





























